जनता टाइम्स

२६ माघ २०७७, सोमबार १३:०३

तीन वर्षपछि नेपालमै उत्पादन भएको फलाम प्रयोग गर्न पाउने, १० करोड टन फलाम भएको अनुमान, ४० वर्षलाई पुग्ने


काठमाडौं, माघ २६

अबको तीन वर्षपछि नेपालीहरुले नेपालमै उत्पादन भएको फलाम प्रयोग गर्न पाउने भएका छन् । नेपालमा नै फलाम उत्पादन गर्ने योजनाका साथ धौवादी फलाम कम्पनीले पूर्वी नवलपरासीमा रहेको फलाम खानीबाट उत्पादन सुरु गरेको दुई वर्ष भएको छ ।

२०७६ साल भदौ ४ गतेको मन्त्रिपरिषद्ले नेपालमा फलाम प्रशोधन उद्योग स्थापना गर्ने निर्णय गरेको थियो । कम्पनीका निर्देशक नारायण बास्कोटाले तीन वर्षपछि धौवादी फलाम खानीको व्यावसायिक उत्पादन हुने भएसँगै अब नेपालकै फलाम प्रयोग गर्न पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘खानीबाट फलाम उत्पादन गर्न सकिने प्रतिवेदन पाइसक्यौं । सरकारी कम्पनी भएकाले यसका सबै कामहरू सार्वजनिक खरीद नियमावलीअन्तर्गत गर्नुपर्छ । नियम अनुसार सूचना निकाल्नुपर्ने र त्यहीअनुसार अगाडि बढ्नुपर्ने भएकाले व्यावसायिक उत्पादनका लागि तीन वर्ष समय लाग्छ ।’

प्रारम्भिक अध्ययनले खानीभित्र १० करोड टन फलाम भएको देखिएको छ । यसलाई प्रत्येक दिन १५०० टनका दरले उत्खनन गर्दा आगामी ४० वर्षलाई पुग्ने अध्ययनले बताएको छ । तर, ड्रिलिङ गरेर निकालिए त्योभन्दा कम वा बढी पनि देखाउन सक्छ । त्यसैले उक्त प्रतिवेदनले खानीभित्र धेरै फलाम रहेको देखाएको अवस्थामा व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिनेछ ।