जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार ०८:२७

पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा गायव


काठमाडौं, जेठ २२

पशुपतिनाथ मन्दिरमा हालसम्म एक अर्व २९ करोड नगद र नौ किलो सुन जम्मा भएको छ । पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानवीन समितिले हिजो सार्वजनिक गरेको प्रतिवेदनले सो तथ्य सार्वजनिक गरेको हो ।

प्रतिवेदनअनुसार पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा उक्त परिमाणको सुन र नगद जम्मा भएको हो । छानवीन समितिका संयोजक डा. मिलनकुमार थापाका अनुसार तीन सय १६ किलो पाँच सय ८६ ग्राम चाँदी जम्मा भएको छ । समितिका अनुसार उक्त विवरण विक्रम संवत २०१९ सालदेखि २०७५ सालसम्मको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षसमेत रहनुभएका थापाले विक्रम संवत २०१९ सालभन्दा अघिको विवरण भने प्राप्त हुन नसकेको जानकारी दिनुभयो ।

पशुपतिनाथ मन्दिरमा हालसम्म १ अर्व २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा भएको छ । छानविन समितिका अनुसार त्यसमध्ये एक अरबको अक्षय कोष स्थापना गरी सामाजिक सेवाको क्षेत्र तथा विपद् व्यवस्थापनमा खर्च गर्ने गरिएको छ । समितिका संयोजक थापाले हाल मन्दिरको दर्ता प्रमाणित भएका जग्गा तीन हजार ६ सय ६७ रोपनी ४ आना ३ पैसा रहेको पनि जानकारी दिए ।

प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको दर्ता प्रमाणित हुन बाँकी रहेको जग्गा दुई सय ३१ रोपनी १० आना १ दाम रहेको छानवीन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार पशुपतिनाथ क्षेत्रको २३२ रोपनी जग्गाको अवस्थाबारे जानकारी नरहेको पाइएको छ । सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले १० महिना लामो अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पशुपति क्षेत्र विकास कोषअन्र्तगत रहेको २३१ रोपनी १० आना एक दाम साबिक दर्ता प्रमाणित हुन बाँकी रहेको उल्लेख छ ।

समितिले पशुपतिनाथको स्वामित्वमा रहेको झन्डै ५ हजार ८० रोपनी जग्गामध्ये २३२ रोपनी जग्गाको लागत दर्ता प्रमाणित हुन बाँकी रहेकाले सो जग्गाको अवस्था थाहा हुन नसकेको हो । कोषका सदस्य सचिव डा प्रदिप ढकालले छानबिनका क्रममा सो जग्गा पशुपतिनाथको नाममा रहेको पाइए तापनि जग्गा कहाँ छ भन्ने जानकारी नरहेको र साबिक लगतको दर्ता प्रमाणित हुन बाँकी रहेको बताउनुभयो । समितिले सरकारले गठन गरेको उच्चस्तरीय भूमि आयोगबाट हराएको जग्गा खोजी गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँको भनाई छ ।

पशुपतिनाथको अचल सम्पत्तिको रूपमा जग्गा/जमिन तथा पाटी, पौवा, सत्तल पर्दछन् । हाल कोष मातहत तीन कार्यालयको जग्गा कुल १८ हजार ३४२ रोपनी रहेको प्रतिवेदनमा उल्लेख छ । पशुपतिनाथको स्वामित्वमा दर्ता प्रमाणित जग्गा ३ हजार ६६७ रोपनी चार आना, तीन पैसा साबिक लागतको दर्ता प्रमाणित हुन बाँकी जग्गा २३१ रोपनी १० आना एक दाम छ । त्रिभुवन विमानस्थल र गल्फ कोर्समा रहेको १ हजार १६१ रोपनी १४ आना तीन पैसा जमिन तथा तारागाउँ रिजेन्सी होटलले चर्चेको १७ रोपनी जमिन पनि पशुपतिनाथको हो ।

यस्तै, कोषले विभिन्न समयमा अधिग्रहण गरेर ल्याएको १ हजार ५०५ रोपनी दुई आना दुई पैसा तथा सरकारले २०४६ सालमा उपलब्ध गराएको ५३४ रोपनी जमिन पनि पशुपतिनाथसँग छ । पशुपतिनाथको स्वमित्वमा ११९ वटा पाटी, पौवा, सत्तल छन् भने गुठी संस्थानतर्फ १९५ गुठीअन्तर्गत ११ हजार २६१ रोपनी जमिन पनि छ । जसमध्ये २३१ रोपनी जग्गा लगत दर्ता प्रमाणित हुन बाँकी छ ।