जनता टाइम्स

२ फाल्गुन २०७७, आईतवार १३:१७

विश्वको प्रभावशाली महिला सपनाले दिइन् विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी


काठमाडौं, फागुन २

विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी दिनुभएको छ । बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले आज काठमाडौं प्रहरी परिसरमा जाहेरी दिनुभएको हो ।

प्रहरीका अनुसार रोकाको उजुरी दर्ता भैसकेको र बस्नेतलाई पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसरका प्ररमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार मुद्दा शाखामा अभद्र व्यवहारमा जाहेरी दर्ता भएको हो ।

काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने दुबैको सम्बन्ध बिग्रिएको हो ।

म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सय बेवारिसे शवको व्यवस्थापन गरिसकेको बताउनुभएको छ । सडकमै अलपत्र अवस्थामा परेका शव अस्पताल लगेर पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना निरन्तर खट्दै आउनुभएको थियो ।