काठमाडौं, फागुन ४ । भारतीय गृहमन्त्री अमित शाहलाई उदृत गर्दै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको सार्वजनिक अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमै कडा आपत्ति जनाएको छ । दिल्लीस्थित नेपाली दुतावासले मुख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै आज भारत सरकारको ध्यानाकर्षण गराएको हो ।
भारतीय विदेश मन्त्रालयसँग यसबारे आपत्ति जनाएर ध्यानाकर्षण गराइएको दिल्लीस्थित नेपाली दुतावासका अधिकारीले जानकारी दिएका छन । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले सो अभिब्यक्तिको बिषयमा स्पष्ट कुरा गरिएको बताउनु भएको छ । अमित शाहले सन् २०१८ मा आफू तत्कालिन भारतीय जनता पार्टीको अध्यक्ष हुँदा नै छिमेकमा समेत भारतीय जनता पार्टी बिस्तार गरेर विश्वकै ठूलो पार्टी बन्न चाहेको बताउनु भएको तथा नेपाल र श्रीलंकामा संगठन विस्तार गरेर बीजेपी सरकार गठन गर्ने योजना रहेको भन्दै त्रिपुराका मुख्यमन्त्री विप्लव देवले अभिब्यक्ति दिनुभएको थियो ।
उहाँको सो अभिव्यक्तिका बारेमा भारतको ध्यानाकर्षण गराएपछि दुतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई पनि जानकारी गराएको जनाएको छ । भारतीय कांग्रेस पनि औपचारिकरुपमा छिमेकीसँगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाउँदै देवलाई माफी माग्न भनेको छ । भारतीय कम्युनिस्ट पार्टीले पनि यसप्रति कडा आपत्ति जनाएको छ । श्रीलंकाका प्रमुख निर्वाचन आयुक्त निमल पन्छीहेवाले पनि देवको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्