जनता टाइम्स

४ फाल्गुन २०७७, मंगलवार २१:१५

जाजरकोटका पत्रकार गिरीलाई यदुस्मृति पत्रकारिता पुरस्कार


काठमाडौं, फागुन ४

जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई यदुस्मृति पत्रकारिता पुरस्कार दिइने भएको छ । यदुस्मृति पत्रकारिता पुरस्कार छनोट समितिका स‌ंयोजक सुर्य थापाको अध्यक्षतामा बसेको बैठकले यस वर्षको पुरस्कार गिरीलाई दिने निर्णय गरेको हो ।

गिरी जाजरकोटलाई आधार बनाएर पत्रकारिता गर्दै आएका छन्। उनले समाजमा शान्ति स्थापनामा भूमिका खेलेको भन्दै समितिले पुरस्कार दिने निर्णय गरेको समितिका सदस्य रुद्र खड्काले बताउनु भयो ।

विगत १९ वर्षदेखि हरेक वर्ष एक जना पत्रकारलाई १५ हजार रुपैयाँ र कदर पत्र सहित पुरस्कृत गरिँदै आएको छ । यो पुरस्कार माओवादीको आक्रमणमा परेर मारिएका लेखक तथा कानुन व्यवसायीसमेत रहेका यदु गौतमको सम्झनामा स्थापना गरिएको हो । २०५६ सालमा मारिएका गौतम तत्कालिन एमालेका रुकुम जिल्ला सचिवसमेत हुनुहुन्थ्यो । उहाकी पत्‍नी तीर्था गौतमलगायतको पहलमा गौतमको सम्झानामा पत्रकारिता पुरस्कार स्थापना गरिएको थियो ।