जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार १२:४९

कहिले खुल्छ धनगढी विमानस्थल ?


कैलाली, जेठ २३

एक महिनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । गएको वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले बताउनुभयो ।

उहाँका अनुसार विमानस्थलमा पहिलेको भन्दा बढी दलदले माटो निस्किएकाले काम लम्बिएको हो । तीन मात्रै ठूला जहाज पार्किङ गर्न मिल्ने विमानस्थलको स्तरोन्नतिपछि चार ठूलै जहाज पार्किङ गर्न सकिने जनाइएको छ । मौसमले साथ दिएमा अबका पाँच दिनमा विमानस्थलमा हवाई उडान सञ्चालन हुने गरी काम भइरहेको निर्माण कम्पनी लुम्बिनी, कोषी, न्यौपाने र खड्का, कृष्ण जेभीका इञ्जिनीयर सचिन थापाले बताउनुभयो ।

उहाँले वर्षा भएमा विमानस्थल मर्मत तथा स्तरोन्नति कार्य लम्बिने जानकारी दिनुभयो । काठमाण्डौ–धनगढी–काठमाण्डौ दैनिक पाँच हवाई उडान हुने गरेका थिए ।