जनता टाइम्स

६ फाल्गुन २०७७, बिहीबार १९:४५

अमेरिकी राजदुत बेरीको चेतावनी : सैन्य गतिविधिसँग जोडिए नेपालले एमसीसी अनुदान गुमाउन सक्छ


काठमाडौं, फागुन ६ । अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाली जनताले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई सैनिक उपस्थितीसँग जोडेर हेरे नेपालले यो बृहत अनुदान नै गुमाउन सक्ने चेतावनी दिनुभएको छ । नेपाल आर्मी कमान्ड एन्ड स्टाफका सैनिक अधिकृत र प्रशिक्षार्थीलाई आज सम्बोधन गर्दै अमेरिकी राजदुत बेरीले यस्तो चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल बनाउन पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालले लामो समयदेखि दोहोरो चरित्र देखाएपछि एमसिसी अनुमोदन हुन सकेको थिएन । सन २०१७ मा हस्ताक्षर गरिएको ५५ अर्बको एमसीसी सम्झौता अनुमोदनमा लामो समय लागेको र हाल संसद नै बिघटन भएपछि अन्यौलग्रस्त रहेको बेला अमेरिकी राजदुत बेरीको यस्तो चेतावनी दिनुभएको हो । एमसिसी सहमतिअनुसार सम्झौता कार्यान्वयनका लागि संसदीय अनुमोदन जरुरी हुन्छ ।

राजदुत बेरीले चर्चा गरिएजस्तो सैनिक उपस्थितीसँग कार्यक्रमको कुनै सम्बन्ध नरहेको समेत बताउनु भयो । ‘एमसिसीमा चर्चा गरिएजस्तो सैनिक उपस्थितीसँग कार्यक्रमको कुनै सम्बन्ध छैन,’ राजदुत बेरीले भन्नुभयो । सैनिक गतिविधिमा एमसीसी लागू गरिनु अमेरिकी कानुनीविपरित रहेको बताउँदै राजदुत बेरीले यसबारे सबै तथ्य सार्वजनिक गरिएको प्रष्ट पार्नुभयो ।

उहाँले नेपालले विकासको सम्भावना बोकेको अनुदान गुमाउन सक्ने जोखिम बढ्दै गएको समेत बताउनु भयो । अमेरिकी सरकारले नेपालमा कुनै सैनिक उपस्थिती र सैनिक ध्रुवीकरण नचाहेको पनि उहाँले प्रष्ट पार्नुभयो । राजदुत बेरीले नेपाली सेनालाई सुद्धढ बनाउने बारेमा अमेरिकी सहयोग निरन्तर हुने जानकारीसमेत गराउनु भएको छ ।