जनता टाइम्स

८ फाल्गुन २०७७, शनिबार ०९:४५

‘पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर बसिरहने ? टाँस्सिइरहने ?’


काठमाडौं, फागुन ८

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रदेश–२ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाको शपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित हुनु पदीय जिम्मेवारी एवं कर्तव्य स्वेच्छिक नभएको बताउनु भएको छ ।

शुक्रबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउदा दुवै जना अनुपस्थित थिए । उनीहरूको अनुपस्थितिप्रति आक्रोश व्यक्त गर्दै थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरूले व्यक्तिगत कुण्ठा र बकबास गरेको बताउनु भयो ।

यस्तो छ उहाको भनाई

अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गंभीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य र संविधानबमोजिमको उपस्थिति स्वेच्छिक होइन र हुनै सक्दैन । उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिड्नु झन् गैरजिम्मेवारी हो । अझ नबोल्ने सम्मानित पदमा बसेर यसढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।

पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्याधीशहरू, पूर्व उपकूलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता ‘पूर्वहरू’को बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदै थियो ।बहालवाला उपराष्ट्रपति र सभामुखको यसप्रकारको अनुपस्थिति, बहिस्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो ! गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बोलाइएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याई गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, सपथग्रहण समारोह बहिस्कार गर्ने,अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहने ? टाँस्सिइरहने ? सरकारविरुद्द विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आआफ्ना निवासमा आयोजना गरिरहने, यो के रवैया हो ? राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरूपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो ? पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताको संकटमा उपचार के हुन्छ ?
सचेत नागरिक तहमा उठिरहेका गंभीर प्रश्नहरू !