काठमाडौं, फागुन ८
उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी वैशाखमा निर्वाचन हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले चुनावका लागि तयार हुन आग्रह समेत गर्नुभयो । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्नेछन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ ।’ निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।
वाग्मती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनःनिर्माण गरिएको हो । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनःनिर्माणमा पहल गर्नुभएको थियो ।
सो अवसरमा उहाँले मन्दिर पुनःनिर्माण गर्न सफल भएकामा खुशी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएको बताउनुभयो । स्थानीयको करीब रु १६ लाख सहयोग उपलब्ध भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणका कामका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । संस्कृति र सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उहाँको भनाइ थियो ।












प्रतिक्रिया दिनुहोस्