काठमाडौं, फागुन ८
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सेवाहरु मोबाइलबाटै प्रवाह गर्नेगरी सञ्चालन गरिएको नागरिक एपलाई प्रभावकारी बनाउन विद्युत व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सरकारी सेवा लिन कार्यालय जानु नपर्ने र कुनै झण्झड बेहोर्नु नपर्ने गरी नागरिक एप सुरु गरिएको जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले पेपरलेस, फेसलेस र लाइन हैन, अनलाइनबाट सेवा प्रवाह भन्ने अभियानलाई सफल बनाउन व्यवसायीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारको डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममा विद्युतीय सामग्रीसँग नङ र मासुको जस्तै सम्बन्ध भएकोले पनि विद्युत व्यवसायी संघको भूमिका महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो । आज राजधानीमा आयोजित काठमाडौं विद्युतीय व्यवसायी संघको ११ औं बार्षिक साधरणसभामा बोल्दै मन्त्री गुरुङले प्रत्येक नागरिकको घरमा पुग्ने विद्युतीय सामग्रीहरु गुणस्तरीय, सस्तो र सर्वसुलभ हुनुपर्नेमा जोड दिनुभयो ।
डिजिटल नेपाल फ्रेमवर्कका लागि हरेक स्थानमा विद्युत हुनुपर्ने र विद्युत भएपछि विद्युतीय सामग्री हुनुपर्ने भएकाले यस्ता कारोवार गर्ने व्यवसायीहरुले जनताको सेवा भावले कार्य गर्नुपर्ने पनि उहाँले बताउनुभयो । व्यवसायीहरुले उद्योग, व्यवसाय सञ्चालन गर्न दर्ता प्रकृयादेखि कर तिर्नसम्म झन्झट बेहोरिरहेको गुनासोहरु नागरिक एप प्रयोगपछि सुन्न नपर्ने पनि उहाँले बताउनुभयो । व्यवसाय दर्ता, कर भुक्तानी जस्ता कामहरु नागरिक एपबाट नै हुने जानकारी दिँदै उहाँले भविश्यमा उक्त एपमा सरकारबाट उपलब्ध गराउने सबै सेवाहरु राखिने जानकारी पनि दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्