काठमाडौं, फागुन ९
२०५३ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य लिनु भएको थियो । उहाले त्यसका लागि पहिलो पटक बजेट पनि विनियोजन गर्नुभएको थियो । तर, त्यसपछि दुई दशक भन्दा बढी समय कसैले वास्ता नै गरेनन् ।
अधिकारीको मन्त्रिपरिषद्मा रहनु भएका तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उहाको सपना साकार पार्ने तयारीमा जुट्नु भएको छ । उहा सो औद्योगिक क्षेत्रकोे शिलान्यास गर्न सोमबार कञ्चनपुर जान लाग्नु भएको हो । प्रेस सङ्गठन नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योग मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको प्रधानमन्त्रीले सोमबार शिलान्यास गर्ने र त्यसको सबै तयारी पुरा भएको बताउनु भयो ।
पहिलो पटक प्रदेशमा निर्माण हुने औद्योगिक क्षेत्रको प्रदेशको मात्रै नभई मुलुकै व्यापार घाटा कम गर्न मद्दत गर्ने मन्त्री भट्टको भनाइ थियो । उहाले सुदूरपश्चिम प्रदेशबाटै अब विकासको गति सुरु हुने समेत बताउनु भयो । ९ अर्ब लगानीमा पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
सरकारले दैजीछेलासहित बाँकेको नौबस्ता र रुपन्देहीको मोतीपुर (लुम्बिनी), चितवनको शक्तिखोर र मकवानपुरको मयूरधाप (बागमती) तथा झापाको दमक (प्रदेश १) औद्योगिक क्षेत्र निर्माणका लागि निर्णय गरेको थियो । हरेक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीतिअनुसार सरकारले १५ नयाँ औद्योगिक क्षेत्र प्रस्ताव गरेको छ ।
तीमध्ये सरकारले नयाँ छवटा औद्योगिक क्षेत्र घोषणा गरी निर्माण अगाडि बढाएको हो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरिएको छ । यी प्रस्तावित छ वटा औद्योगिक क्षेत्रको निर्माण पाँच वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।













प्रतिक्रिया दिनुहोस्