जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार १०:०६

गरिब भनेर चिनिएको नेपाली हरियो पासपोर्टलाई संसारले सम्मान गर्ने बनाउने अध्यक्ष पन्तको अठोट


काठमाडौं, फागुन १० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको छ। यो कोषमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । गैरआवासीय नेपालीलाई लगानीका लागि आइपीओ जारी गरिनेछ । १० अर्बको कोषमा नेपाल सरकारबाट पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता आइसकेको संघले जनाएको छ । थप संस्थापकको १० प्रतिशतले हुने १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको छ । बाँकी रकम विदेशमा आइपिओ जारी गरेर संकलन गर्ने तयारी छ । ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउने संघले जनाएको छ। स्थापनाको अन्तिम चरणमा रहेको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को प्रबन्धपत्र, नियमावली र कम्पनी दर्ता कागजातमा हस्ताक्षर समेत भएको छ । बिहीवार काठमाडौंमा उपलब्ध संस्थापकहरूले उक्त कागजातमा हस्ताक्षर गरेका हुन्।

बिहिवारको उक्त कार्यक्रममा मन्तब्य राख्दै संघका अध्यक्ष कुमार पन्तले गरिब भनेर चिनिएका नेपालीको परिचय परिवर्तन गर्नु आफ्नो संकल्प भएको बताएका छन् । विदेशका विमानस्थलहरुमा हरियो पासपोर्ट देखाउँदै गर्दा यो गरिब देशको नागरिक हो, यिनिहरु गरिब छन् भनि नेपालीलाई हेपुवा नजरले हेर्ने गरेको बताउँदै यो दृष्टिकोणलाई बदल्न आफूहरु लागि परेको पन्तको भनाइ छ ।
पन्तको भनाइको सम्पादित अंश

यो अभियानलाई साथ दिनका निम्ति संसारभरिका साथीहरुले चासो देखाइरहनु भएको छ । लगानी गर्नका लागि धेरै साथी लाम्बद्ध हुनुहुन्छ । यो कम्पनी दर्तासँगै शेयर प्रक्रियामा गएपछि शेयर किन्न तयारी अवस्थामा छौँ भन्दै हौसला दिइरहनु भएको छ । साँच्चै भन्दा आजको यो दिन एक ऐतिहासिक दिन हो ।

नेपाली हामी जहाँसुकै जुनसुकै अवस्थामा बसेपनि हरियो पासपोर्ट देखाउँदै गर्दा यो गरिब देशको नागरिक हो, यिनिहरु गरिब छन् भनि संसारले हामीप्रति हेर्ने दृष्टिकोण छ । यो दृष्टिकोणलाई हामीले बदल्नुछ । त्यो हरियो पासपोर्टलाई संसारले सम्मान गर्ने बनाउनुछ । यसका लागि यो देशलाई धनि बनाउनुपर्छ, आर्थिक रुपमा सम्पन्न गराउनुपर्छ । देशमै रोजगारीको अवसर सिर्जना गर्न गैरआवासीय नेपालीहरु तयार छौँ ।

ठूला लगानीकर्ता साथीहरुलाई कहाँ लगानी गर्ने भन्ने कुराको समस्या छैन् । तर, साना लगानीकर्ताको ठूलो रकम नेपालमा चाहिएको छ । हामी रेमिट्यान्स पठाउँछौ मध्यपूर्वका खाडी मुलुकबाट त्यो असाध्यै अनुत्पादक क्षेत्रमा खेर गइरहेको छ । हामीले त्यसलाई ल्याएर उत्पादनमुलक क्षेत्रमा ल्याउनुपर्छ । साना लगानीका साथीहरुले पनि लगानीको अवसर पाउनुपर्छ भनेर यो योजनाको परिकल्पना हामीले गरेका हौं।

१०, २० र ३० डलरको पनि शेयर किन्न पाउने । त्यो पनि विदेशमै बसेर । यो ऐतिहासिक आइपीओ हो । यस्तो पहिलो प्रोजेक्ट हामीले ल्याएका छौं । जुन सुन्दा पनि अनौठो छ । यसबाट हजारौ लाखौं श्रमिक साथीहरु लाभान्वित हुने कुरामा हामी विश्वस्त छौं । यो कामलार्ई यहाँसम ल्याउनका लागि अघिल्लो कार्यकालमा केहि कदमहरु चलेका थियौं । त्यसमा केहि समस्या आएपछि हामीले थोरै पछि सारेका थियौं ।

मेरो कार्यकाल सुरु भएको भोलिपल्टै यो प्रोजेक्टमा काम गर्न सुरु गरेको थिएँ। गत मार्चमा नै हामी कम्पनी दर्ता गर्ने तयारीमा बसेका थियौं । त्यति बेला नै कोभिड–१९ आयो । कोरोना आएपछि अब के गर्ने त रु त्यसअघि नै हामीले धेरै चोटी अर्थमन्त्रीलाई भेटेका थियौं र प्रधानमन्त्रीसँग भेटघाट गरेका थियौं । उद्योगमन्त्री, सचिवहरुलगायत धेरैसँग यस योजनामा सरकारको पनि सहभागीता चाहियो भनेर मैले कुरा राखेको थिएँ । भेटपछि कोभिड सुरु भयो ।

कोरोनामा साथीहरुको अवस्था कस्तो हुने हो, हाम्रो आफ्नै अवस्था के होला रु देशको अवस्था कस्तो होला रु यो त लगानीसँग जोडिएको विषय थियो त्यसले गर्दा थोरै समय कुरौँ र हेरौँ भनेर बस्यौं ।कोरोना महामारी सुरु भएको ६ महिना पछाडि कोभिड १९ सँग लिभिङ टुगेदरमा हामी अघि बढ्नुपर्छ भन्ने निति संसारभर देखिएकोले मैले पनि यो कामलार्ई सुरु गर्ने सोच गरे । यसका लागि हामीले स्टेरीङ कमिटि बनायौं र काम सुरु गर्यौँ ।

काम गर्दैगर्दा केहि काम काठमाडौं नै आएर गर्नुपर्ने देखियो । एयरपोर्टमामा झर्ने वित्तिकै माननीय अर्थमन्त्रीलार्ई फोन गरेको थिएँ । गैरआवासीय नेपालीको लगानी आओस् भन्ने चाहनुहुन्छ कि हुन्न भनि सोध्दा यो लगानी नेपाल आओस भन्ने चाहना छ । सरकारले के गर्नपर्छ। र, भन्ने जवाफ आयो । सरकारी कार्यलयमा कुन फाइल कता अडकिन्छ त्यो थाहा हुन्न । यदि यस्तो भएमा हाम्रो लागि लगानी गर्ने ठाउँको कमी छैन हामी अन्तै जान्छौ भन्ने कुरामा अर्थ मन्त्रीले कस्तो सहयोग चाहियो दिन तयार छौँ भन्नुभयो । सरकारको पाटोमा लगानीको चेक चाहिएमा त्यो पनि लिएर जानुस, उहाँले त्यही भन्नुभयो।

उद्योग मन्त्री, सेवनका सचिव, अर्थमन्त्रालयका सचिवलगायत सबैलाई एकै ठाउँमा भेट्ने वातावरण बन्यो । कम्पनी दर्ता र लगानी भित्र्याउन कुनै समस्या हुँदैन भन्ने कुरा उहाँहरुबाट आएपछि काम सुरु भयो । र, आजका दिनसम्म आइपुगेको छ । यो कम्पनी नेपालकै ऐतिहासिक कम्पनी बन्नेछ । धेरै श्रमिकहरु यो कम्पनीको लगानीबाट लाभान्वित हुनेछन् । साथीहरुलाई ढुक्क भएर यसमा लगानी गर्न आग्रह गर्दछु । यो प्रतिफल दिन सक्ने, नेपालमा रोजगारी सिर्जना गर्न सक्ने कम्पनी बन्नेछ।