जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार १४:४१

दैजीछेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास


कञ्चनपुर, फागुन १०

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको छ । सोमवार औद्योगिक क्षेत्र निर्माणस्थलमा पुगेर प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो ।

२०५३ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सो क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न बजेट छुट्टाएपनि त्यसपछि कुनै सरकारले त्यसलाई वास्ता गरेनन् । पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको विस्तारका लागि वर्तमान सरकारले चासो दिएर शिलान्यास नै गरेको छ ।

२९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य शुरू हुने र पछि १ हजार बिघामा विस्तार हुने वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले बताउनु भयो । अहिलेलाई ४०० बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुनेछन् । जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।