जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार १७:३५

घरदैलोमा अण्डा पुर्याउँदै किसान दाना उद्योग


चितवन, फागुन १०

यहाँको किसान दाना उद्योग प्रालिले सङ्कलन भएको अण्डा घरदैलोसम्म पुर्याउन थालेको छ । कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पुर्याउन थालेको हो ।

उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलका अनुसार देशभर ३० भन्दाबढी बिक्री केन्द्रमार्फत घरदैलोका किराना पसलसम्म अण्डा पुर्याउने लक्ष्य लिइएको छ । हालसम्म पाँच बिक्री केन्द्रमार्फत अण्डा बिक्री गरिँदै आएको छ ।

सोही उद्योगकोसमेत लगानी रहेको नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नं ३ मा रहेको दाउन्ने एग्रो फार्ममा दैनिक ८०० पेटी अण्डा सङ्कलन हुने गर्दछ । यसैगरी उद्योगबाट दाना किन्ने किसानबाट दैनिक ९५० पेटी अण्डा संकलन हुने गर्दछ ।

संकलन भएका अण्डा उपभोक्ताका घरदैलोमा पुर्याउने लक्ष्यका साथ काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । उहाँले सोझै घरदैलोसम्म अण्डा पुर्याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताउनुभयो । हाल उद्योगले सुर्खेतको सनिहिल लाइन, काठमाडौँको पेप्सीकोला, जोरपार्टी, नयाँ बजार र नक्सालमा बिक्री केन्द्र खोलेको छ ।

ती केन्द्रमार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । १२ वटा साना सवारी साधनले अण्डा ओसार्ने गरेको उहाँको भनाइ छ । छिट्टै इटहरी र वर्दिबासमा केन्द्र खोलिँदै छ । उहाँले भन्नुभयो, ‘स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्तासम्म पुर्याउने हाम्रो लक्ष्य हो ।’

नेपालमा नै सबैभन्दा बढी अण्डा सङ्कलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ । उद्योगका निर्देशक द्रोणप्रसाद लामिछानेले किसानबाट पाँचौँ तह पार गरेर मात्र उपभोक्ताकामा अण्डा पुग्दै आएकामा अब सोझै उपभोक्तासम्म पुर्याउने उद्देश्यका साथ काम थालिएको बताउनुभयो ।

उहाँका अनुसार घर नजिकैको पसलसम्म उद्योगले अण्डा पुर्याउनेछ । यसैबीच आजमात्र सुुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित सनिहल लाइनमा पाँचौँ बिक्री केन्द्र शुभारम्भ गरिएको छ । सो केन्द्रको सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले उपभोक्ता लाभान्वित हुने गरी चितवनबाट सुर्खेतसम्म आएकामा खुशी प्रकट गर्नुभएको निर्देशक लामिछानेले जानकारी दिनुभयो ।

उद्योगका संस्थापक सञ्चालक राजकुमार गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा सङ्घका महासचिव लक्ष्मण कँडेल, कोषाध्यक्ष भद्र भण्डारी, सदस्य भीमप्रसाद पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्योगका कार्यकारी निर्देशक पोख्रेलले बिक्री केन्द्र स्थापनाको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो ।