जनता टाइम्स

१२ फाल्गुन २०७७, बुधबार १८:४८

संसद पुनःस्थापनाले केही बिग्रदैन, विघटनको उदेश्य पूरा भइसक्यो : शंकर पोखरेल (भिडियोसहित)


काठमाडौं, फागुन १२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका नेता शंकर पोखरेलले संसद पुनःस्थापना भएर केही नबिग्रिएको बताउनु भएको छ । राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले संसद बिघटनपछिको यस अवधीमा आफूहरुको योजना सफल भएकोले पुनःस्थापनाबाट केही नबिग्रने बताउनु भएको हो ।

प्रतिनिधिसभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताविरुद्ध गरिएका षडयन्त्रको भण्डाफोर गर्न नपाउने तथ्य पनि उहाँले राख्नुभयो । ‘जुन उद्देश्य साथ प्रतिनिधिसभा विघटन गरेका थियौं, त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पूरा गरिसकेका छौं । संसद पुनःस्थापना भएर केही बिग्रिएको छैन,’ पोखरेलले भन्नुभयो, ‘पार्टी नेतृत्व र आन्दोलनको रक्षाको लागि स्वाभाविक रुपमा प्रतिनिधि सभाको विघटन त्यतिबेलाको लागि अपरिहार्य कदम थियो भन्ने हामीले बुझ्न जरुरी छ ।’
उहाँले संसद विघटनको उद्देश्य पूरा भइसकेको पनि प्रष्ट पार्नुभयो ।

‘सर्वोच्चको फैसला के भयो भन्ने बिर्सनुस । त्यतिबेला त्यो काम नगरेको भए पार्टी नेतृत्व, आन्दोलन र एकताविरुद्ध जुन प्रकारको षडयन्त्रपूर्ण क्रियाकलाप भएको थियो, त्यसको विरोध र भण्डाफोर गर्ने अवसर पाउने थिएनौं,’ पोखरेलले भन्नुभयो । उहाँले अब कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिएको र गैर कम्युनिष्टहरुको सरकार बनाउन खोजेको भन्दै जनतामा जाने योजना पनि सुनाउनु भयो ।

प्रचण्ड–माधव समूह गैरकम्युनिष्टको नेतृत्वको सरकार बनाउन भिख माग्दै हिँडेको पोखरेलको भनाई छ । ‘एकातिर प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्नुहुन्छ, अर्कोतिर गैर कम्युनिष्टको नेतृत्वमा सरकारका लागि भिख माग्न हिँड्नुभएको छ,’ पोखरेलले भन्नुभयो, अब सांसद तान्ने खेल हुनेछ र संसद विघटनको कदम सही हो भन्ने सबैले महसुस गर्नेछन ।’