जनता टाइम्स

१४ फाल्गुन २०७७, शुक्रबार १२:०९

संसद पुनःस्थापनाले प्रचण्ड–माधव र बाबुराम भन्दा भारत धेरै खुशी : यसरी खुल्दैछ पर्दाभित्रको षड्यन्त्र


काठमाडौं, फागुन १४ । लामो समयदेखि अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी भएपछि जसरी पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नो चाहनाबिपरित नेपालमा केही गर्न नदिने योजनालाई अघि बढाएको भारत प्रतिनिधिसभा पुनःस्थापनाले निकै खुसी बनेको तथ्यबहरु बाहिर आउन थालेको छ । अदालतबाट प्रतिनिधिसभा पुनःस्थापनासँगै मुलुकमा राजनीतिक अस्थिरता सुरु भएको र अव भारतले चाहेअनुसार नेपालमा अभियान चलाउने समुह रहेको कारण भारत निकै उत्साहित बनेको हो ।

केही दिनयता भारतको खुशी धमाधम प्रकट हुँन थालेको छ । नेपालको अहिलेको अवस्था देखेर भारत कति खुशी छ भन्ने कुरा भारतीय जनता पार्टी (बीजेपी) का नेता सुव्रमण्यम स्वामीका शब्दबाटै प्रष्ट भएको छ । नेपालमा प्रधानमन्त्री ओलीलाई कमजोर पार्न खोजिँदा भारत खुशी हुन्छ । ओली नेतृत्वको सरकार ढाल्न खोजिँदा पनि भारत निकै खुशी हुने गरेको छ । नेपाल जब अप्ठेरोमा पर्छ भारत खुशी हुन्छ । नेपालमा जब राजनीतिक अस्थिरताको खेल सुरू हुन्छ भारत खुशी हुन्छ ।

भारतलाई यसरी खुशी बनाउन सहयोग गर्ने नेताहरू अरू कोही नभएर नेपालकै नेता हुन भन्ने तथ्य पनि बाहिर आइसकेको छ । नेपालमा भारतको योजना पूरा गर्ने नेतामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईदेखि केही मधेशवादी दलका नेतासम्म रहेका छन । कांग्रेसभित्र पनि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलादेखि अन्य आधा दर्जन नेताहरु खुलेयाम भारतको योजना लागू गर्न दौडिरहेका छन ।

नेपालमा अव फेरि अस्थिरता आउने भयो, हामीले भनेअनुसार मात्रै हुने भयो, भारतसँग नेपालको अडान राख्दा ओली ढालियो भन्दै भारतमा हर्षबढाई नै भइरहेको छ । नेपालमा पनि लड्डु खुवाएर हर्षबढाई गरिएको छ । भारतको चाहना पूरा भएकोमा नेपाली नेताहरु सुखी भएको अचम्मको दृष्य प्रतिनिधिसभा पुनःस्थापनापछि देखिएको छ । सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापनाको घोषणालगत्तै भाजपा नेता सुव्रमण्यम्ले नेपालबाट शुभ समाचार आएको प्रतिक्रिया दिनुभयो ।

ओली उनकै कदमका कारण अहिले न घर न घाटको अवस्थामा पुगेका छन, यही बेला चिनियाँ प्रभावलाई निस्तेज गर्न भारतले केही सिक्नैपर्छ,चिनियाँहरुले भूमिका बढाउने छन, त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर राजनीतिक कदम चाल्नुपर्छ

फैसलालगत्तै ट्वीट गर्दै स्वामीले अब नेपाल र भारतको सम्बन्ध नयाँ ढंगबाट अढि बढ्ने उदघोष पनि गर्नुभयो । स्वामीको यो भनाईले भारत नेपालमा स्थिरता चाहाँदैन । केपी ओली जस्ता राष्ट्रवादी नेतालाई नेतृत्वमा देख्न सक्दैन । नेपालमाथि धावा बोल्न राष्ट्रवादको नक्कली खोल भिरेका नेपाली नेतासँगै मिलेर भारत अनेक खेल खेल्छ भन्ने प्रष्ट तथ्य बाहिर आएको छ ।

प्रधानमन्त्री ओलीले भारत आफूलाई हटाउन चाहिरहेको कुरा गत असार १४ गते नै सार्वजनिक गरिसक्नु भएको छ । त्यसबेला प्रचण्ड र माधव नेपालहरुले भारतले होइन, हामीले हटाउन चाहेका हौं भनेर भारतभक्ति देखाइसक्नु भएको थियो । अहिले स्वामीको कुराले उहाँहरु भारतको भारी बोकेर ओली हटाउने अभियानमा लाग्नुभएको प्रष्ट तथ्य बाहिर ल्याएको छ ।

संसद पुनःस्थापनासँगै प्रचण्ड–माधव समूहले आफ्नै पार्टीका प्रधानमन्त्री हटाउने रणनीतिसाथ नयाँ प्रधानमन्त्री लागि छलफल अगाडि बढाइरहेका बेला स्वामीले प्रधानमन्त्री ओलीको आलोचना गर्दै स्वामीले फेरि अर्काे ट्वीट गर्नुभएको छ । अहिले प्रधानमन्त्री ओली न घर न घाटको जस्तो अवस्थामा पुगेको भन्दै स्वामीले यही बेला भारतले चतुर राजनीतिक कदम चाल्नुपर्ने योजना सुनाएका छन ।

स्वामीको यो ट्वीट नेपालमा रहेका भारतका सुराकीलाई सन्देश दिएको अर्थका रुपमा लिइएको छ ।
‘ओली उनकै कदमका कारण अहिले न घर न घाटको अवस्थामा पुगेका छन, यही बेला चिनियाँ प्रभावलाई निस्तेज गर्न भारतले केही सिक्नैपर्छ,चिनियाँहरुले भूमिका बढाउने छन, त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर राजनीतिक कदम चाल्नुपर्छ,’ स्वामीले लेख्नुभएको छ ।

ओलीको नेतृत्वमा सरकार बनेसँगै नेपालका केही नेतासँग मिलेर भारतले आफूले भनेअनुसार चल्न सन्देश पठाएको थियो । तर राष्ट्रियताका लागि चट्टानझै उभिनुभएका ओलीलाई ढगमगाउन सकेन । त्यसपछि सरकार ढाल्ने खेल भारतले अघि बढायो । ओली नेतृत्वको सरकारलाई ढाल्ने भारतको प्रयास पनि सफल भएन । ओली सरकार ढाल्न नसकेपछि आफै बिगारेको नेपालसँगको सम्बन्ध सुधार्न भारतले आफै हात अगाडि बढायो । विभिन्न चरणमा दूत पठाएर छलफल थाल्यो । अर्थात ओली अडानको कारण लामो समयदेखि हडपेको नेपाली भूमि फिर्ता गर्नैपर्ने अवस्था आयो भन्ने निश्कर्षमा भारत पुग्यो ।

केपी ओली सत्तामा रहनुन्जेल नेपालविरूद्ध परै जाहोस् नेपाललाई गलत नजरले हेर्नुपनि हुँदैन भन्ने सच्चाइलाई भारतले राम्रोसँग बुझेको छ । आफूले हडपेको भूमि ओलीले फर्काएरै छाडछन भन्ने सच्चाइ पनि भारतले राम्रै बुझेको छ । हो यही कारण भारत केपी ओलीलाई रूचाउँदैन । यही कारण नेकपाभित्र लामो समयदेखि पालिरहेका नेता प्रयोग गरेर प्रधानमन्त्री ओलीलाई हटाउने खेल भारतले खेल्यो । त्यसलाई रोक्न प्रधानमन्त्रीले साहसिक कदम चाल्नुभयो ।

पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ का लागि चुनावको घोषणा गर्नुभयो । अदालतले पुनःस्थापना गरेपछि भारत र प्रचण्ड–माधव समहदेखि बाबुराम भट्टराई समुहले हर्षबढाई गर्यो । फैसला पुनःस्थापनाको पक्षमा आएसँगै भारतले फेरि फोहोरी खेल अघि बढाएको छ भन्ने तथ्य भाजपा नेता स्वामीकै शब्द काफी छन ।