जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार १४:१०

प्रचण्ड–माधव समुहले भन्यो : नेकपाको बिधान र बिधि–पद्धती मानिन्न


काठमाडौं, फागुन १७ । बिधि र पद्धतीको रटान लगाएर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध मिसन चलाउनु भएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालले अन्ततः बिधि र पद्धती मान्दै नमान्ने घोषणा गर्नुभएको छ ।

नेकपाको बिधानअनुसार संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष र प्रधानमन्त्री ओलीले आफ्नो अधिकार प्रयोग गरी संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई हटाएर बिशाल भट्टराईलाई नियुक्त गर्नुभएपछि प्रचण्ड–माधव समुह बिधि र पद्धती आफूहरुले नमान्ने घोषणा गर्नुभएको हो ।

सो समुहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्री ओलीले निर्णय स्वेच्छाचारी भएको भन्दै मान्य नहुने बताएको हो । नेकपा संसदीय दलको बिधानमा दलका नेताले प्रमुख सचेतकलगायतका दलका पदाधिकारीको नियुक्ति र बर्खास्तीको अधिकार छ ।

आज बिहान बसेको प्रचण्ड–माधव समुहको सचिवालय बैठकले गुरुङलाई हटाउने निर्णयप्रति आपत्ति जनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरी विशाल भट्टराईलाई प्रमुख सचेतक मनोनयन गर्नुभएको थियो ।