जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार १६:४५

ममाथि भौतिक हमला हुनसक्छ, तर देश बनाउने आन्दोलनबाट कोही पछि हट्नु हुदैन : प्रधानमन्त्री ओली


पोखरा, फागुन १७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू माथि सबै खालका प्रहार भइरहेकाले कुनै पनि बेला भौतिक रुपमा समेत प्रहार हुन सक्ने बताउनुभएको छ । तर, उहाले देश निर्माण गर्ने आन्दोलनबाट कोही पनि पछि हट्न नहुने समेत स्पष्ट पार्नुभयो ।

पोखरामा नेकपाको गण्डकी प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्वमा आफू रहेको र पार्टी र सरकार ठिक ढंगले अघि बढेकोले आफू माथि व्यापक हमला भएको बताउनुभयो । ‘सम्पूण रुपमा म माथि अति तिब्र गतिले हमला भइरहेको छ, म माथि कुनै शारीरिक हमला भयो वा मेरा ज्यान नै तलमाथि भै हाल्यो भने पनि तपाईँहरुले अनौठो नमान्नुहोला’, प्रधानमन्त्रीले ओलीले भन्नुभयो ।

विरोधीको यो षडयन्त्रलाई पुरा हुन भने नदिने ओलीले घोषणा समेत गर्नुभयो । ‘हामी त्यस्तो हुने दिँदैनौँ सतर्कता अपनाउँछौँ, म रहिन भने पनि केही छैन, पार्टी छ, आन्दोलन रहन्छ, यो आन्दोलनले प्रतिक्रियावादीको सामू घुँडा टेक्नु हुँदैन, देशलाई अन्धकारमा जान दिनुहुँदैन, यस पार्टीलाई तलमाथि हुनदिनु हुँदैन’, प्रधानमन्त्रीले भन्नुभयो ।