जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार १८:४७

सरकारले भन्यो : सर्वोच्चको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ


काठमाडौं, फागुन १७ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको प्रष्ट पार्नुभएको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने प्रष्ट पार्नुभएको हो ।

‘सर्वाेच्चको फैसलाले बहुमतप्राप्त दलको नेताले संवैधानिक हैसियतले, नैतिकताको हैसियतले आफ्नो जिम्मेवारीबाट भाग्न पाइँदैन । राज्य सञ्चालन गर्नु तपाईको दायित्व हो, जिम्मेवारी, नैतिकताको विषय हो भनेको छ,’ प्रवक्ता गुरुङले भन्नुभयो, ‘राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाटै भएको छ । त्यसैले अहिले राजीनामा गर्नुहुन्न, जे हुन्छ संसदीय प्रक्रियाबाट फैसला हुन्छ ।’

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर नैतिकताको पाठ सिकाउनेहरुले राजनीतिबाट सन्यास लिन मन्त्री गुरुङले सुझाव दिनुभयो ।