जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार १९:५०

गृहमन्त्री थापाको खुलासा : ‘कम्फर्टेबल’ सरकार बनाएर देशलाई भारतको बन्दकी राख्न चाहन्छन प्रचण्ड


पोखरा, फागुन १७ । गृहमन्त्री रामबहादुर थापा, बादलले प्रचण्ड–माधव समुह पार्टी अध्यक्ष नेतृत्वको सरकार बिस्थापन गरी कम्फर्टेबल सरकार बनाएर देशलाई भारतको बन्दकी राख्न चाहेको खुलासा गर्नुभएको छ ।

नेकपाका नेतासमेत रहनुभएका गृहमन्त्री थापाले नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्त गरेर प्रचण्डहरु भारतको लागि ‘कम्फर्टेबल’ सरकार बनाउन लागेको तथ्य राख्नुभएको हो । नेकपा गण्डकीको भेलालाई आज सम्बोधन गर्दै थापाले प्रचण्डहरुको यस्तो विचार जनताको पक्षमा हुनैनसक्ने बताउनुभयो । ‘के यो समाजवाद पक्षको विचार हो ? के यो स्थिरताको पक्षको विचार हो ?’ थापाको प्रश्न थियो ।

अब संसदमा सरकार ढाल्ने र जोगाउने बीच संघर्ष हुने बताउँदै यो संघर्षमा नेकपाले विजय प्राप्त गरेरै छाड्ने उदघोष पनि उहाँले गर्नुभयो । ‘एकथरी कमरेडहरु ‘कम्फर्टेबल’ सरकार बनाएर राष्ट्रिय स्वाधिनतामा अतिक्रमण गर्न चाहन्छन्, यो देशलाई अरुको बन्दकी राख्न चाहन्छन्, समाजवादको यात्रालाई रोक्न चाहन्छन,’ गृहमन्त्री थापाको भानई थियो ।

अहिलेको राजनीतिक घटनाक्रम समाजवाद र समाजवाद विरोधी बीचको टकराव भएको पनि उहाँले जानकारी दिनुभयो । नेपालमा समृद्धि देख्न नचाहनेले सरकारविरुद्ध आक्रमण गरिरहेको भन्दै उहाँले भन्नुभयो, ‘यी सबै समाजवाद र समाजवाद विरोधी बीचका अभिव्यक्ति हुन्, अहिलेका परिघटना राष्ट्वादी र राष्ट्र विरोधी बीचको संघर्षका रुपमा व्यक्त भइरहेका छन ।’

थापाले अब समाजवादको पक्षमा उभिने कि समाजवाद विरोधीको पक्षमा उभिने भन्ने कित्ता प्रष्ट गर्नुपर्ने बेला आएको उहाँले पनि बताउनुभयो ।