जनता टाइम्स

१८ फाल्गुन २०७७, मंगलवार १२:१६

डोजरले घर भत्काई ताप्लेजुङ दोभान बजारको आगो नियन्त्रणमा लिने प्रयास


ताप्लेजुङ, फागुन १८

मेरिङदेन गाउँपालिका वडा नम्बर ३, दोभान बजारमा मंगलबार बिहानदेखि लागेको आगो थप फैलिनबाट रोकिएको छ । सदरमुकाम फुङलिङबाट आएको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो फैलिन रोकिएको हो । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काएको थियो । अहिले आगो नियन्त्रणमा आइनसकेपनि फैलावट हुनबाट भने रोकिएको मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूले जानकारी दिनुभयो ।

बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो । स्थानीय भोला पौडेलको घरबाट आगो लाग्न शुरु भएको थियो । पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको स्थानीयले जानकारी दिएका छन् । दोभान मनिट्रान्सफर र ग्लोबल आई एम ई बैंक सहित ४० ओटा घर पुर्णरुपमा जलेर नष्ट भईसकेको छ ।

बिहानको समयमा मानिसहरू ब्युँझिसकेको र आगो लाग्नेबित्तिकै बाहिर निस्कन पाएकाले मानवीय क्षति हुनबाट जोगिएको पनि गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।