जनता टाइम्स

१८ फाल्गुन २०७७, मंगलवार १३:१२

तीन दिनमा प्रधानमन्त्री ओली दोस्रो पटक गृहजिल्ला झापामा


बिर्तामोड, फागुन १८

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो तीन दिनमा दोस्रो पटक गृहजिल्ला झापा आइपुग्नु भएको छ । १६ गते झापाका विभिन्न विकाश निर्माण आयोजना स्थल शिलान्यासका लागि आउनु भएका उहाँ आज पुनः झापा आउनु भएको हो ।

मंगलबार प्रधानमन्त्री ओलीले क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्वागत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’को उद्घाटन गर्नुहुनेछ । बिर्तामोड नगरपालिका–७ मा निर्मित सो ग्राममा ३७ आवासगृह छन् । प्रधानमन्त्री ओलीले अपराह्न बिर्तामोडको ३०० शय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ । बिर्तामोडको कार्यक्रमपछि उहा मोरङको उर्लाबारीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनु हुनेछ ।