काठमाडौ, फागनु १८
सरकारले वार्ता गर्न दुई सदस्यीय टोली बनाएको केही घण्टापछि नै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि वार्ता टोली घोषणा गरेको छ ।
विप्लव समुहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेको हो । दुई सदस्यीय टोलीमा प्रकाण्डसँगै उदयबहादुर चलाउने ‘दिपक’ रहनु भएको छ । यसअघि पुस दोस्रो साता बसेको विप्लव नेकपाको केन्द्रीय समिति बैठकले बनाएको वार्ता टोलीलाई नै निरन्तरता दिइएको हो । विप्लवले मंगलबार विज्ञप्ती निकाल्दै नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्तामा बस्न पार्टी तयार भएको उल्लेख गर्नुभएको छ ।
सरकारले केही समय अगाडी गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनु भएको छ । सरकार र विप्लव समुहबीच केही दिनमै वार्ता हुने अपेक्षा दुवै पक्षले गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्