१८ फाल्गुन २०७७, मंगलबार ००:००

खोप लगाएकामा पनि कोरोना संक्रमण, चिकित्सकले दिए यस्तो सुझाव


काठमाडौं, फागुन १८ । कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएको १६ दिनपछि बरिष्ठ पत्रकार दामोदरप्रसाद दवाडीलाई संक्रमण भएको छ । ५६ वर्षीय पत्रकार दवाडीले माघ ३० गते निजामती अस्पताल काठमाडौंमा कोरोना खोपको पहिलो डोज लगाउनु भएको थियो ।

खोप लगाएको दुई सातापछि गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको दवाडीले जानकारी दिनुभयो । ‘जिउ दुख्ने, ज्वरो आउने र खोकीसमेत लागेपछि स्वास्थ्य जाँच गरेको थिएँ, कोरोना पुष्टि भयो,’ दवाडीले भन्नुभयो । उहाँ अहिले होम आइसोलेसनमा हुनुहुन्छ । उहाँको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले भने खोप लगाएपछि संक्रमण भएकोबारे कुनै जानकारी प्राप्त नभएको जानकारी दिनुभयो । ‘पहिलो डोज (मात्र) लगाएका व्यक्तिलाई कोरोना संक्रमण हुन सक्छ । खोप लगाएको १६ दिनमा संक्रमण भएको हो भने एन्टिबडी विकास हुने समय पनि भइनसकेको हुनुपर्छ,’ पौडेलले भन्नुभयो ।

बिज्ञहरुले कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने बताएका छन । पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन पनि सुझाएका छन । भारतले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप हालसम्म ४ लाखभन्दा बढीले लगाएका छन । यो खोप कम्तीमा ८ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्ने विज्ञहरूको सुझाव छ ।