१९ फाल्गुन २०७७, बुधबार ००:००

आज सभामुख र सांसदले कोरोनाविरुद्धको खोप लगाउँदै


काठमाडौँ, फागुन १९ । आज सभामुख, सांसद र केही मन्त्रीले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

बिहान १० बजे नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा सभामुख अग्नि सापकोटालगायत सांसद र मन्त्रीले खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक आह्वान भएपछि सभामुखसहित सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउन लागेका हुन् । आउँदो २३ गते प्रतिनिधिसभाको बैठक बस्दै छ । यस्तै, आज संसदको रिपोर्टिङ गर्ने केही पत्रकारले पनि खोप लगाउँदै छन् ।

सरकारले सबै नागरिकलाई खोप दिने भन्दै थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु गरेको छ । यसअघि सरकारले भारतबाट २० लाख डोज खोप खरिद गरेकामा १० लाख डोज आइसकेको छ । बाँकी १० लाख डोज खोप आउन बाँकी छ ।

त्यसअघि भारतले अनुदानमा दिएको १० लाख डोज खोप सरकारले स्वास्थ्यकर्मी, सफाइकर्मीलगायत अग्रपङ्क्तिमा खटिनेलाई प्राथमिकतामा राखेर लगाएको थियो ।