जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार १२:५७

प्रचण्ड–माधव समुहमा जनार्दन शर्माकै बिद्रोह : पार्टी एकता जोगाउन सचिवालयबाहेकका सांसद बसेर साझा निश्कर्ष निकाल्न प्रस्ताव


काठमाडौं, फागुन १९ । नेकपा प्रचण्ड–माधव समुहका प्रभावशाली नेता जनार्दन शर्माले एकीकृत नेकपाको सचिवालय सदस्य बाहेकका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलमा बस्न अपील गर्नुभएको छ ।

नेकपाको कानूनी विभाजन जटिल बन्दै गएको र शीर्षस्थ नेताहरुले कुनै केपी ओलीसँग नमिल्ने भनिरहेका बेला सोही समुहका प्रभावशाली नेता शर्माले आफ्नो धारणा राख्दै प्रचण्ड–माधवसहित एकीकृत नेकपाको सचिवालयमा रहेका ९ जनानेताबाहेकका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलमा बसेर पार्टी एकता बचाउन अपिल गर्नुभएको हो ।

शर्माले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा अघि सार्दै पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न सांसदहरुमा अपील गर्नुभएको छ । शर्माले यस्तो छलफल कुनै पक्ष वा नेतृत्वको पक्ष–विपक्षमा नहुनेसमेत प्रष्ट पार्नुभएको छ ।
‘सचिवालय सदस्यहरु बाहेकका सांसदहरुले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको म स्वतन्त्र रुपमा छलफल गर्न माननीयहरुमा हार्दिक अपील गर्दछु । यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्ने अर्थमा भएको समेत जानकारी गराउँछु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिनेछ,’ नेता शर्माले भन्नुभएको छ ।

नेता शर्माले नेकपामा उत्पन्न विवादलाई सैद्धान्तिक एवं नेतृत्वको प्रश्न तथा पदीय झगडाका रुपमा आआफ्नो ढंगले बुझाइ रहेको भन्दै प्रतिनिधिसभा पुनःस्थापना भइसकेको सन्दर्भमा प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक रहेको बताउनु भएको छ । शर्माले पार्टी विभाजनअघि देखिनै नेकपाको सचिवालय नै पार्टी बिग्रिने कारण भएको भन्दै सचिवालय भंगको माग गर्दै आउनु भएको थियो ।

उहाँले ९ सदस्यीय सचिवालय बाहेकका सांसदहरुको छलफलको प्रस्ताव गर्नुभएको हो । एकीकृत नेकपाको सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, इश्वर पोखरेल, रामबहादुर थापा, महासचिव बिष्णु पौडेल र नारायणकाजी श्रेष्ठ हुनुहुन्छ ।

नेता शर्माले सचिवालयका नेताहरु नै आफ्नो पदीय स्वार्थका लागि पार्टीमा समस्या पैदा गर्ने गरेको ठोकुवा यो भनाईले गरेको छ । शर्माको यो भनाईलाई प्रचण्ड–माधव समुहमा बिद्रोह गरेको अर्थका रुपमा लिइएको छ ।