जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार १४:४९

बाबुराम भट्टराईबाट आयो भारतको रोडम्याप


काठमाडौं, फागुन १९ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गर्नुभएको छ । स्वास्थ्य उपचार गरेर दश दिनपछि मंगलबार स्वदेश फर्किनुभएका पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव गर्नुभएको हो ।

प्रतिनिधिसभा बिघटनलाई प्रतिगमन भन्दै आउनु भएका भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना गर्ने अदालतको निर्णय आउँदा आफ्नो रोग निको भएको प्रतिक्रिया दिनुभएको थियो । प्रतिनिधिसभाको अधिवेशन आह्वान भई बैठक बस्ने समय नजिकिदै जाँदा उहाँले भारतकै लाइनअनुसार सहमतिमा चुनावी सरकार गठनको प्रस्ताव गर्नुभएको छ । भट्टराईको यो तर्कले सहमतिबाहेक बर्तमान प्रतिनिधिसभाबाट अर्काे सरकार बन्न सक्ने अवस्था नरहेको निश्कर्षमा पुगेको देखाउँछ ।

‘अहिलेको समस्याको जरो २०६५÷०६६ पछि भत्किएको राजनीतिक सहमति हो, बाटो बिराए पुरानै ठाउँमा फर्कनू भने झैं एकपटक ‘फर्गिभ एण्ड फर्गेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै काम गरौं,’ भट्टराईको प्रस्ताव छ । भारत आफू, माधव नेपाल वा महन्त ठाकुरमध्ये एकलाई प्रधानमन्त्री बनाइ दिने भट्टराईको बिश्वास छ ।

उहाँले योसहित ५ प्रस्ताव पनि राख्नुभएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत शान्ति प्रकियामा बाँकी काम पूरा गर्नुपर्ने पनि उहाँको प्रस्ताव छ । यस्तै भट्टराईले सहमतिको सरकारले सहमतिले संविधान संशोधन, संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन, समावेसी समृद्धिको बृहद गुरूयोजना बनाएर कार्यान्वयन गर्नुपर्ने, बदलिदो भूराजनीतिलाई ध्यान दिँदै भारत, चीन, अमेरिकासँग असल सम्बन्ध बनाउनुपर्ने भट्टराईको धारणा छ ।

भारतकै निर्देशनअनुसार भट्टराईले चुनावी सरकारदेखि संबिधान संशोधनसम्मको प्रस्ताव गर्नुभएको प्रष्ट देखिन्छ । संबिधान जारी भएदेखि नै भारत संशोधनको कुरा उठाउन लगाउँदै पटक पटक अनेक प्रस्ताव अघि सार्दै आएको छ ।