१९ फाल्गुन २०७७, बुधबार ००:००

बिप्लव समुहसँगको बार्तापछि गृहमन्त्री थापा उत्साहित, छिट्टै सुखद परिणाम आउने घोषणा


काठमाडौं, फागुन १९ । गृहमन्त्री रामबहादुर थापाले बिप्लव समुहसँगको बार्ता निकै फलदायी रहेको भन्दै छिट्टै सुखद परिणाम आउने जानकारी दिनुभएको छ । बिप्लव नेतृत्वको नेकपासँग सरकारी बार्ता टोलीका संयोजकसमेत रहनुभएका गृहमन्त्री थापाले आज भएको बार्तापछि यस्तो जानकारी दिनुभएको हो ।

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पहिलो चरणको वार्ता भएको हो ।
‘मैले नेतृत्व गरेको नेपाल सरकारको बार्ता टोली र बिप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको बार्ता टोलीबीच आज भएको पहिलो चरणको बार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक बिषय सहमति नजिक छ, केही बिषयमा छलफल जारी छ, छिट्टै सुखद परिणाम आउने अपेक्षा छ,’ बार्ताबारे जानकारी दिँदै गृहमन्त्री थापाले भन्नुभएको छ ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री थापा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी हुनुहुन्थ्यो ।
छलफलमा विप्लव समुहले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने र मुद्दाहरु फिर्ता लिनुपर्ने प्रस्ताव राखेको छ । आजको बार्तामा दुवै तर्फबाट शिर्ष तहमा छलफल गरेर पुनः चाँडै अर्को चरणको वार्तामा बस्ने सहमति भएको छ ।