जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार १६:३१

मलाई प्रधानमन्त्री दिन आए छाड्दिन : कांग्रेस सभापति देउवा


चितवन, फागुन १९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाइयो भने नछोडिने बताउनु भएको छ । प्रचण्ड–नेपाल पक्षले नेकपाको दुई तिहाई छाडेर कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गरिरहेका बेला उहाले सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री पाए नछाड्ने बताउनु भएको हो ।

चितवनमा आयोजित कार्यक्रममा देउवाले भन्नुभयो, ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन ।’ यद्यपी उहाले आफूले प्रधानमन्त्री पद नमागेको तर घरमै दिन आएको बताउनु भयो । प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रसंग उठाएको भन्दै जवाफमा उहाले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न’ पनि पौडेललाई आग्रह गर्नुभयो ।

कांग्रेसमा सरकारमा जाने नजाने विषयमा मतभेद रहेको छ । उहाले प्रधानमन्त्रीका लागि मरिमेट्ने वा भाग्ने कुरा नहुने बताउदै ‘काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ,’ भनाई राख्नुभयो ।