जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार २१:२६

इकोसिस्टमको अर्थ र सम्बन्धबारेमा हरेक विद्यार्थीलाई शिक्षा दिनुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं,फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना व्यवस्थापनको रजत महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कोषले व्यवस्थापनको जिम्मा लिएपछि चिडियाखानामा सुधार आएकोसमेत बताउनुभयो ।

चिडियाखानामा वन्यजन्तुको संरक्षणसँगै शैक्षिक दृष्टिकोणबाट पनि जोड्नुपर्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानव, वन्यवन्तु, वनस्पति, प्राकृतिक स्रोत, इकोसिस्टमको अर्थ र सम्बन्धबारेमा हरेक विद्यार्थीलाई शिक्षा दिनुपर्ने उल्लेख गर्नुभयो ।

सदर चिडियाखाना साँघुरो हँुदै गएकाले खुला चिडियाखानाको अवधारणाअनुसार आफूले अघिल्लो कार्यकालमा भक्तपुरको सूर्यविनायकमा खुला चिडियाखानाको शुभारम्भ गरेको जानकारी गराउनुभयो ।

उहाँले चिडियाखानाभित्र ज्येष्ठ नागरिक, अशक्त र गर्भवतीलगायतलाई आवतजावतमा सहजताका तर्फबाट चार थान विद्युतीय सवारी प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।
एक सिंगे गैँडाको अविभावकत्व ग्रहण

सो अवसरमा प्रधानमन्त्री ओलीले चिडियाखानाको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’को शुभारम्भ गर्दै एकसिङ्गे गैँडाको अविभावकत्व ग्रहणसमेत गर्नुभयो । उहाँले हाल चिडियाखानामा रहेका तीनमध्ये उहाँले एक गैँडाको एक महिना आफ्नो निजी तर्फबाट र एक वर्षको नेपाल सरकारका तर्फबाट आहारा, स्याहार र औषधोपचार खर्चको जिम्मेवारी लिनुभएको हो । वन्यजन्तुको व्यवस्थापनमा देखिएको कठिनाइ समाधान गर्न र गैँडाको हकको संरक्षण गर्न आफूले अवभावकत्व ग्रहण गरेको उहाँले बताउनुभयो ।

चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण चिडियाखानामा वन्यजन्तुको व्यवस्थापनमा कठिनाइ देखिएको भन्दै विभिन्न एक दर्जन वन्यजन्तुको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ सार्वजनिक गरेको छ । यसअन्तर्गत चिडियाखानाले तत्काल हात्ती, बाघ, भालु, गैँडा, गोही, चिम्पाञ्जी, हिप्पोपोटामस, रेडपाण्डालगायत एक दर्जन वन्यजन्तुको वर्ष दिनको आहारा, स्याहार र औषधोपचारमा लाग्ने खर्चको विवरणसमेत तयार गरेको छ ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयले सातै प्रदेशमा चिडियाखाना स्थापनाका लागि तीव्ररुपमा काम गरिरहेको बताउँदै यसै आर्थिक वर्षभित्र चिडियाखानाको मापदण्डसम्बन्धी कार्यविधिसमेत स्वीकृत गर्ने जानकारी गराउनुभयो ।

साथै उहाँले सूर्यविनायकमा स्थापना गर्न लागेको खुला चिडियाखानाको विस्तृत परियोजना प्रतिवेदन छिट्टै अघि बढ्नेसमेत बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले मानव र वन्यजन्तुबीचको अन्तरसम्बन्धमा देखिएका चुनौतीको समाधान गर्दे अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो । मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले कोषले नेपालको वातावरण संरक्षण र अध्ययन अनुसन्धानमा राम्रो काम गरेको भन्दै कोषको योगदानको प्रशंसा गर्नुभयो । कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले कोषले अन्नपूर्ण संरक्षण क्षेत्रमा गरेको व्यवस्थापन अनुपम भएको अवगत गराउँदै आगामी दिनमा संरक्षणमा अझ प्रभावकारीरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो भने चिडियाखाना २०५२ सालदेखि कोषले व्यवस्थापन गर्दै आएको छ ।