काठमाडौं, फागुन २०
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार अपरान्ह सदर चिडियाखाना जावलाखेल पुग्नु भयो । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडियाखानाको रजत महोत्सवको अवसरमा कार्यक्रम आयोजना गरेको थियो । नेपालमा पहिलो पटक जनवार एडप्ट गर्ने अभियानको शुरुवात गर्ने कार्यक्रम पनि थियो ।
मानिसहरुले मानिस नै एडप्ट गर्ने चलन रहेपनि जनवार एडप्ट गर्ने चलन त्यत्ति चल्तीमा छैन । त्यसैले जनवारलाई एडप्ट गर्ने नयाँ योजना शुरु गरिएको थियो । अर्थात एक वर्षभरी त्यो जनवारलाई खुवाउने र भईपरि आउने खर्च उठाउने व्यक्तिको खोजीमा एडप्ट एन एनिमल कार्यक्रम राखिएको हो । प्रधानमन्त्री ओलीले कार्यक्रममा नेपालमा पाइने एकसिंगे गैंडा एडप्ट गर्नुभयो ।
उहाले कोरोनाकाल बाँकी नै रहेकाले आफ्नो तलब नआउने भन्दै एक महिनाको गैंडाको खाना बराबर खर्च श्रीमती राधिका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो । प्रधानमन्त्री ओलीले कोरोनाकाल भरीको तलब कोषमा जम्मा गर्ने यसअघि नै निर्णय गरिसक्नु भएको छ । तलब नरहेकाले बाँकी ११ महिनाको खाना सरकारले उपलब्ध गराउने बताउनु भयो ।
त्यसपछि उहाले गैंडा र त्यसले नेपालप्रति पोखेको राष्ट्रभक्तिलाई व्याख्या गर्नुभएको थियो । ‘जु संकटमा पर्यो । कर्मचारीलाई त तनखा दिन्छौं होला, थोरै भए पनि । पचास प्रतिशत भए पनि । यी जनावर त कोही पनि नआएपछि त पचास प्रतिशत पनि हुँदैन । संकटमा परेनन् ? यिनलाई संकटमा पर्न नदिन हामी विभिन्न उपाय गर्छौं । जसमध्ये एडप्ट एन एनिमल एक हो । यो एकसिंगे गैंडा नजिकै गयो भने त्यत्ति राम्रो मान्दैन । एडप्ट गरेपछि त अलि राम्रो मान्नुपर्ने नि ? नजिक गयो भने त्यत्ति राम्रो मान्दैन । तै पनि यो यसै धर्तिमा जन्मेको हो । यो एकसिंगे गैंडा, यसका पुर्खा न अन्त जान्थे, न अन्त पैदा हुन्थे । यो अमेरिकामा जन्मिँदैन । अमेरिकामा बसोबास गर्न बसाइँ पनि जाँदैन । डिभी पनि काट्दैन यसले । यसलाई नेपाल प्यारो छ । नारायणीको किनार राम्रो छ । यो ओरिजिनल्ली नेपाली हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्