जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार ०९:१०

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको सक्रियता देखेर चिकित्सक चकित


काठमाडौं, फागुन २१ । पार्टीभित्रै घेराबन्दीमा पारिएकै बेला ठीक एक वर्षअघि अर्थात् ०७६ फागुन २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै हिम्मतसाथ मिर्गौलाको दोस्रो पत्यारोपण गराउनु भयो । नेपालमै दोस्रो प्रत्यारोपण हुनेमा धेरैलाई विश्वास थिएन। तर, प्रधानमन्त्रीले स्वदेशी अस्पताल र नेपाली डाक्टरमाथि ठूलो भरोसा गर्नुभयो ।

प्रत्यारोपणसँगै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अद्भूत परिवर्तन भयो। राजनीतिमा सक्रिय हुन सक्दैनन् भन्ने आम सोच उल्टो सावित भयो। उहाँको राजनीतिक सक्रियता मात्र बढेन, धपेडीसमेत बढ्यो। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा आएको परिवर्तनसँगै देशको राजनीतिक कोर्समा समेत प्रभाव पर्‍यो।

मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट दिनुभएको भिडियो सन्देश दिँदै भन्नुभएको थियो, ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन। त्यसैगरी भर्खर जागृत हुँदै गरेको सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न। भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ। कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई सबै मिलेर जगाऔं। म पुनः आग्रह गर्छु– मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क हुनुहोस्।’

यो आत्मबिश्वाससहित अस्पताल भर्ना हुनुभएका ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भयो । त्यसयता उहाँ झन सक्रिय देखिनुभएको छ । स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका मुलुकका कार्यकारी प्रमुखको सक्रियता र आत्मविश्वास देखेर उपचारमा संलग्न चिकित्सक भने चकित छन्।

सामान्यतयाः मानिसको शरीरमा एउटा वा दुईवटा मिर्गौला हुन्छ। तर, प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला छन्। ती मिर्गौलामध्ये एउटा मिर्गौलाले मज्जासँग काम गरिरहेको छ। त्यही प्रत्यारोपित मिर्गौलाको भरमा प्रधानमन्त्री ओली सक्रिय हुनुहुन्छ । रोग र राजनीतिक संघर्ष झेल्दै आउनु भएका ओली फुर्तिला पनि देखिनुभएको छ ।एक वर्षअघि आजकै दिन (फागुन २१ गते) प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। भान्जी नाता पर्ने ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको शरीरमा गरिएको यो दोस्रो प्रत्यारोपण हो। त्यसको १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँले नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए।

मुलुककै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली पहिलो अतिविशिष्ट व्यक्ति प्रधानमन्त्री ओली नै हुनुहुन्छ । ‘उहाँको अनुहारमा कान्ति फर्किएको छ। मनोबल उच्च देखिन्छ। ऊर्जा झन् बढेको छ’, मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राडा उत्तमकुमार शर्मा भन्नुहुन्छ, ‘उहाँको स्वस्थता देखेर सन्तुष्ट छु। उहाँको दिनचर्या हेर्दा अचम्म लाग्छ।’

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाह नियमित औषधि सेवन, सामान्य व्यायाम दिनहुँ गर्ने र स्वस्थकर खानपानमा ध्यान दिएका कारण सक्रिय जीवन बिताउन सफल भएको बताउनु हुन्छ । ‘बिहानपख सामान्य हिँडडुल गर्नुहुन्छ। मिर्गौला प्रत्यारोपणपछि उहाँको स्वास्थ्य अवस्था ठीक छ,’ दैनिक गतिविधि नियालिरहेकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा शाहले भन्नुभयो ।

त्यसो त एमालेको अघिल्लो महाधिवेशनताका उहाँ केही शिथिल र गल्नुभएको थियो । ‘बिरामीलाई अध्यक्ष बनाउन हुँदैन’ भन्ने प्रचारबाजी निकै भयो। त्यही अवस्थामा ओलीले अध्यक्ष जित्नुभयो। त्यसपछि उहाँकै नेतृत्वमा स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र र कांग्रेस मिल्दा पनि एमाले पहिलो पार्टी भएको थियो। संसदीय निर्वाचनमा भने माओवादी केन्द्रसँग सहकार्य र पछि एकीकरणसमेत भयो। ओलीको नेतृत्वमा करिब दुई तिहाइको सरकार बन्यो।

बिरामी छु भनेर ओली कहिल्यै झोक्राउनु भएन। बरु झन् सक्रियता बढाउँदै लग्नुभयो। दोस्रो मिर्गौला प्रत्यारोपणसँगै सुगौली सन्धिको २ सय ४ वर्षमा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा जारी भयो। यसमा सबै राजनीतिक दल, आम नागरिकको अद्भूतपूर्ण ऐक्यबद्धता रह्यो। यही कारण भारतसँग संवादहीनताको अवस्था आयो। पार्टीमा उहाँको राजीनामा मागियो। दुवै विषयको ओलीले कडा मुकाबिला गर्नुभयो ।

दोस्रो मिर्गौला प्रत्यारोपणले उहाँलाई थप ऊर्जा प्रदान गर्‍यो। उहाँको सक्रियता र प्रभाव बढ्न थालेपछि आलोचना उत्तिकै हुन थाल्यो। पार्टीमा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले आरोपपत्र ल्याउनुभयो। ओली यति शक्तिशाली भएर अघि बढनुभयो कि, कतिपयले तानाशाही बनेको आरोप लगाए। पार्टीमा खिचातानी बढ्दै गएपछि पुस ५ मा प्रधानमन्त्री ओलीले संसद् भंग गर्नुभयो । त्यसपछि पार्टीका दुवै खेमाबीच राजनीतिक शक्ति प्रदर्शनको होड चल्यो। ओली देश दौडाहामा दैनिकजसो निस्किनुभयो।

पछिल्लो दुई महिना उहाँको सक्रियता स्वस्थ व्यक्तिको भन्दा बढी देखिएको छ। पूर्वाधार, पुल, सडक, औद्योगिक क्षेत्रको उद्घाटन, शिलान्यासमा पनि ओली आफैँ पुगिरहनु भएको छ। उहाँको देश दौहाडा अहिले भ्याइनभ्याइ छ। प्रधानमन्त्री ओलीले आराम गरेको पटक्कै देखिँदैन।

यसबीच उहाँको स्वास्थ्य अवस्थामा कुनै समस्या आएको छैन। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिए पनि अलिकति पनि कमजोर प्रस्तुति गरेको देखिएको छैन। आत्मविश्वासकै कारण प्रधानमन्त्री ओलीले रोगलाई जितेर यति धेरै क्रियाशील भएको पाइन्छ।

त्यसमाथि अर्को ऐतिहासिक काम भएको छ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दललाई शान्ति प्रक्रियामा ल्याई मूलधारमा समाहित गराउने। बिरामी छु भनेर बसेको भए यी कुनै सम्भव हुने थिएन । प्रधानमन्त्री ओलीले असंभव जस्तै कामलाई संभव गराइ दिनुभयो ।