जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार १२:३०

विप्लव समुहको नेता बाँस्तोला रिहासँगै काठमाडौंमा, कम्युनिष्टबीच एकता हुनुपर्नेमा जोड


काठमाडौं, फागुन २१

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला काभ्रेपलाञ्चोकबाट रिहा हुन भएको छ । सरकारसँग तीन बुँदे सहमति भएसँगै उहाँ शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट रिहा हुनुभएको हो ।

११ दिनदेखि उहाँ काभ्रेको हिरासतमा हुनुहुन्थ्यो । प्रहरीले संगठित अपराध, आगजनी लगायतका मुद्दामा उहाँलाई पक्राउ गरेको थियो । उहाँ रिहा भएसँगै उहाँलाई परिवार तथा पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए । रिहा भएसँगै उहाँलाई प्रहरीले सुरक्षाकर्मी सहित काठमाडौं ल्याएको छ । केही समयपछि काठमाडौंमा आयोजना हुने कार्यक्रममा उहाँ सहभागी हुनुहुने छ ।

उहाँले वार्ताले मुलुकलाई सहि निकास दिने बताउनुहुँदै राजनैतिक ढंगले समाधान गर्न खोजिएकाले आफूहरु बार्ताका लागि तयार भएको बताउनुभयो । सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले कम्युनिष्ट पार्टीहरु बीचको एकता आवश्यकता भएको बताउनुभयो ।