जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार १६:१२

भारतको सीमासँग पुग्ने ११ सहायक सडक सम्पन्न हुँदै


काठमाडौं, फागुन २१

हुलाकी राजमार्ग हुँदै भारतको सीमासँग पुग्ने सहायक सडकमध्ये ११ सडकको निर्माण सकिएको छ । भारतीय सहयोगमा निर्माण भएका नौ र नेपाल सरकारको लगानीमा निर्माण भइरहेका दुई गरी ११ सडक सम्पन्न हुन लागेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । हुलाकी राजमार्गबाट भारतको सीमा क्षेत्रसम्म पुग्ने सडक निर्माणको काम भइरहेको निर्देशनालयले जनाएको छ ।

यी सडकमध्ये कतिपयको लम्बाई १८/१९ किमीदेखि २७ किमीसम्म रहेको निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताउनुभयो । यी सबै सडकको गरी जम्मा लम्बाई ८८२ किमी छ । उहाँका अनुसार कतिपय जिल्लामा एउटा मात्रै त कतिपय जिल्लामा दुई तीन वटासम्म यी सडक रहेका छन् । सरकारले आर्थिक वर्ष २०७९/८० मा राजमार्गसँगै यी सडक सम्पन्न गर्ने लक्ष्य लिएको छ । उहाँले भन्नुभयो, ‘त्यही लक्ष्यका साथ निर्माणको काम भइरहेको छ ।’

हुलाकी राजमार्गबाट शुरु भएर सडक महेन्द्र राजमार्ग हुँदै भारतीय सीमासम्म रहेको छ । भारतीय अनुदानमा १० सहायक सडक निर्माण भइरहेकामा नौ सडक सम्पन्न हुन लागेको छ भने एउटा निर्माणाधीन रहेको प्रमुख बिसुरालले जानकारी दिनुभयो । नेपाल सरकारको बजेटबाट निर्माण हुने भनिएको २८ सडकमध्ये दुई सम्पन्न भइसकेको र २६ निर्माणाधीन रहेको छन् ।

उहाँले भन्नुभयो, ‘सरकारले वार्षिकरुपमा विनियोजन गरेको बजेटबाट निर्माणको काम भइरहेको छ ।’ राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा हेरिएको छ । सडक निर्माण सम्पन्न भएपछि तराई–मधेशका जनताको जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।

सरकारले मध्यपहाडी राजमार्गसँगै यो राजमार्गको निर्माण आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण गत आवमा आयोजनाअन्तर्गतका सडक निर्माण सुस्त थियो । चालू आवमा भने अपेक्षा गरिएअनुसार निर्माण अघि बढिरहेको निर्देशनालयले जनाएको छ ।