जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार १८:२७

नेकपाका मुख्य सचेतक बिशाल भट्टराईले दिए प्रचण्डलाई कठोर जवाफ (पत्रसहित)


काठमाडौं, फागुन २१ । सत्तारुढ नेकपाको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दर्ता भएको पत्रको औचित्य नरहेको प्रष्ट पार्नुभएको छ ।

मुख्य सचेतक भट्टराईले संसदीय दलको तर्फबाट आज प्रेस विज्ञप्ति जारी गरी दलको विधान बमोजिम विधिवत रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली रहेकाले अरु पत्र र दाबी गैरकानुनी रहेको तथ्य राख्नुभएको हो । प्रचण्डको पत्र बिहीबार देव गुरुङ सहितका प्रचण्ड–माधव पक्षीय सांसदहरूले सचिवालयमा दर्ता गरी ओली, दलका उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएको जनाउनु भएको थियो । मुख्य सचेतक भट्टराईले सो काम अबैध रहेको बताउनु भएको छ ।

‘नेपालको संविधान तथा प्रचलित कानूनबमोजिमबाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैर कानुनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन सक्दैन,’ मुख्य सचेतक भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । भट्टराईले निर्वाचन आयोगले गत माघ ११ गते पार्टीको बैठकका मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेका हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनपर्ने उल्लेख भएकाले त्यसविपरीतका कुनै पनि बैठक र पत्राचारले मान्यता नपाउने प्रक्ष्ट पार्नुभएको छ ।

भट्टराईले दलको विधान बमोजिम नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरीबाहेक अरु पदाधिकारी नरहेको भन्दै संसद सचिवालयलाई कुनै द्विविधामा नपर्न ध्यानाकर्षणसमेत गराउनु भएको छ ।