जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार १९:०५

अचानक बामदेव निवास किन पुग्नुभयो प्रधानमन्त्री ओली ?


काठमाडौं, फागुन २१

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुग्नुभएको छ । विप्लवलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याए लगत्तै प्रधानमन्त्री ओली गौतम निवास पुग्नुभएको हो ।

गौतम घरभित्रै लडेर सामान्य चोपटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्नका लागि जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । गौतमलाई सामान्य चोटपटक लागेको गौतमको पारिवारिक स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालसहितका सचिवालयका टीम पनि भैसीपाटी पुग्नुभएको थियो ।

प्रचण्ड–माधव पक्षले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगलाई ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई राजनीतिक रुपमा लिन नपर्ने बताइएको छ ।