जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार २०:०८

प्रचण्ड–माधव समुहमा जनार्दन शर्मापछि योगेशको बिद्रोह : आठ बुँदे प्रस्तावसहित एकताको पक्षमा उभिए


काठमाडौं, फागुन २१ । आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार ढालेर भारतका लागि कम्र्फटेवल सरकार निर्माणमा जुटनु भएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई फेरि अर्काे झड्का लागेको छ ।

कांग्रेस नेतृत्वको सरकार गठन गर्न जनताको आदेश नभएको भन्दै स्थायी कमिटी सदस्य जनार्दन शर्माले सचिवालयबाहेकका सांसदहरु बसेर स्वतन्त्र निर्णय लिनुपर्ने प्रस्तावसहित बिद्रोह गरेको भोलिपल्ट अर्का प्रभावशाली नेता योगेश भट्टराईले पनि बिद्रोह गरेपछि प्रचण्ड–माधवलाई झडका लागेको हो ।

स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता भट्टराईले आज नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने ८ सूत्र सार्वजनिक गर्दै प्रचण्ड–माधव समुहले बोलाएको संसदीय दलको बैठकसमेत बहिष्कार गर्नुभएको छ । भट्टराईले भन्नुभएको छ, ‘इगो नराखौं, पार्टी जोगाएर जाने अवसर अझै पनि बाँकी छ ।’

यस्तो छ एकता जोगाउने भट्टराईको आठ बुँदा

१. प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएर नेकपाकै नेतृत्वमा सरकार गठनको अगुवाइ गर्ने ।
२. इगो नराखे प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्ने, नत्र नेकपाबाटै दोस्रो पुस्ताबाट अर्को व्यक्तिलाई सहमतिमै प्रधामन्त्री बनाउने ।

३. केपी ओली, प्रचण्ड र माधव नेपाल तीनजना अध्यक्ष हुने ।

४. तीन अध्यक्ष राख्दा पनि नमिले झलनाथ खनाल र वामदेव गौतम समेत थपेर ५ जनाको अध्यक्ष मण्डल बनाउने । त्यसैले दैनिक पार्टी सञ्चालनबाहेक नीतिगत नेतृत्व गर्ने ।

५. महासचिव बिष्णु पौडेलको नेतृत्वमा हालको स्थायी कमिटी सदस्यमध्येबाट १५–१७ सदस्यीय सचिवालय बनाउने, अहिलेको ९ सदस्य सचिवालय भंग गर्ने ।

६. महासचिव पौडेल नेतृत्वको सचिवालयले ‘टिओआर’ सहित पार्टी सञ्चालन गर्ने र एकताका बाँकी काम समय तोकेर टुंग्याउने ।

७. प्रदेश सरकारहरुको पुनर्गठन गर्ने, संघीय सरकार गठन गर्दा मन्त्रीहरुको चयन बिचार समूहहरुको सम्मानजनक प्रतिनिधित्व गराउने ।

८. स्थानीय तह र संघ तथा प्रदेशको चुनावसम्म पार्टी सहमतिका आधारमा चलाउने र चुनावपछि महाधिवेशनबाट नयाँ नेतृत्व र बिचार सहित अघि बढ्ने ।