जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार १०:०५

पाटनबाट ३७ वर्षअघि हराएको मूर्ति अमेरिकामा भेटियो, नेपाल ल्याइँदै


काठमाडौं, फागुन २२

नेपालबाट चोरी गरेर अमेरिका पु¥याइएको एउटा महत्वपूर्ण मूर्ति नेपालले फिर्ता पाएको छ । ३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायण (वसुदेव–कमलाजा) को मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई हस्तान्तरण गर्नुभएको हो ।

लक्ष्मी–नारायणको उक्त काँस्य मूर्ति (जसलाई वासुदेव–कमलाजा समेत भनिन्छ) १२औँ र १५औँ शताब्दीबिचको पुरातात्विक सम्पदा हो । सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मूर्तिको पूजा हुने गरेको थियो । नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ । हराएको छ वर्षपछि लिलाम बिक्री भएको उक्त मूर्ति पछि डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो ।

एक परियोजनाका लागि नेपालबाट चोरिएका कलाकृतिको खोजी गर्ने कार्यमा संलग्न कलाकार जोय लिन डेभिसले दुई वर्ष पहिले इमेज सर्च (तस्बिर खोजी) का माध्यमबाट उक्त मूर्ति डल्लास म्युजियम अफ आर्टमा रहेको तथ्य फेला पार्नुभएको थियो । त्यसकै प्रतिफलस्वरूप उक्त मूर्ति पत्ता लागी फिर्ताको चरणसम्म पुगेको हो ।

मूर्ति नेपाली दूतावासमै एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । उक्त मूर्तिलाई १९९० देखि अमेरिकाको ड्यालस म्युजियम अफ आर्ट्स मा राखिएको थियो । नेपालको मध्यकालीन समयमा बनेको भनिएको मूर्ति ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाइको छ । दूतावासले युनेस्कोको आवश्यक प्रक्रिया पुरा गरेर नेपाल ल्याइने जनाएको छ ।