जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार १०:५८

प्रचण्ड-माधवलाई देउवाको जवाफ : प्रतिपक्ष दलको नेता वेटिङ प्राइममिनिष्टर हो तर म यो दौडमा छैन


काठमाडौं, फागुन २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा अधिवेशन नजिकिएसँगै नयाँ सरकार गठनको चर्चा भइरहेको र प्रचण्ड माधव समुहले प्रधानमन्त्री बन्न प्रस्ताव गरिरहेको बेला कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नै नरहेको प्रष्ट पार्नुभएको हो ।

‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म यो दौडमा छैन,’ शनिबार आफ्नै निवासमा आयोजित एक कार्यक्रममा देउवाले भन्नुभयो । नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको पनि उहाँले प्रष्ट पार्नुभयो । ‘यो नेकपाको आन्तरिक कुरा हो, हामीले त्यसमा पक्ष विपक्षमा उभिदैनौं,’ देउवाले भन्नुभयो, ‘संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुभएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको छ। प्रचण्ड-माधव समूहले कांग्रेसको साथमा अविश्वासको प्रस्ताव ल्याउने र देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने योजना बनाएको छ। तर कांग्रेसले भने अहिलेसम्म कुनै निर्णय दिएको छैन ।