जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार १८:५२

प्रदेश प्रमुख डा. झाले देखाएको मानवता, कर्णाली पुगेर सडक दुर्घटनाका घाइतेको गर्नुभयो उद्धार


कर्णाली, फागुन २२

कर्णाली भ्रमणमा आउनुभएका प्रदेश–२ का प्रदेश प्रमुख डा. राजेश अहिराजले सुर्खेतका सडक दुर्घटनामा परी घाइते भएका चालकको उद्धार गर्नुभएको छ । प्रदेश प्रमुख झाले आज रत्न राजमार्गको हर्रे नजिक दुई मिनीट्रक आपसमा जुध्दा घाइते भएका चालक शेरबहादुर सिंहलाई आफ्नै गाडीमा राखेर अस्पताल पु¥याउनुभएको हो ।

इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले कोहलपुरबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२–००१ख०२५६ नम्बरको मिनीट्रक र सुर्खेतबाट कोहलपुरतर्फ गइरहेको बा५ख ५२०४ नंको मिनीट्रक आपसमा जुध्दा चालक सिंह गम्भीर घाइते भएको जनाएको छ । घाइते चालकलाई प्रदेश प्रमुख झाले तत्कालै उद्धार गरी कोहलपुर मेडिकल कलेज पु¥याउनुभएको हो । प्रहरी जवान सुरेन्द्र रेग्मीले घाइते चालक कर्णाली प्रदेश ०२००१ख ०२५६ नंको मिनीट्रकका चालक रहेको तथा उहाँको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख झाले आफ्नो फेसबुक पेजमा सुर्खेतबाट फर्कँदै गर्दा दुर्घटना भएर छटपटाइरहेका घाइतेलाई देखेपछि उद्धार गरी अस्पताल पु¥याएको उल्लेख गर्नुभएको छ । सबै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट गर्ने क्रममा प्रदेश प्रमुख झा कर्णाली आउनुभएको हो ।

प्रदेश राजधानी सुर्खेतस्थित प्रदेश प्रमुखको कार्यालयमा आज बिहान समकक्षी गोविन्दप्रसाद कलौनी र प्रदेश नं २ का प्रदेश प्रमुख झाबीच आज भेटवार्ता भएको हो । कलौनीको सचिवालयका अनुसार प्रदेश प्रमुख झाले कर्णालीका प्रदेश प्रमुखलाई आफ्नो प्रदेश भ्रमणको निम्तो दिनुभएको छ । प्रदेश प्रमुख कलौनीले आफू उपयुक्त समयमा प्रदेश नं २ को भ्रमण गर्ने बताउनुभयो । भेटमा दुवै प्रदेश प्रमुखहरूबीच अनुभव आदानप्रदान र प्रदेश प्रमुखको कार्यालयका गतिविधिबारे कुराकानी भएको बताइएको छ ।