जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार १३:०१

नेकपाका सबै सांसद सत्ता पक्षकै कुर्सीमा : संसद सचिवालय


काठमाडौं, फागुन २३

संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सबै सांसद सत्तारुढ दलकै लहरमा बस्ने जानकारी दिएको छ । दलमा मतभेदको विषय थाहा भएपनि कानुनी रुपमा नेकपा विभाजन भएको पत्र नआएकाले विगतमा जस्तै सबै सांसद सत्तारुढ दलकै कुर्सीमा बस्ने जनाएको हो ।

निर्वाचन आयोगबाट दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । ‘दलको दुईवटा समूहको छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको छ’, उहाले भन्नुभयो ।

उहाले संसद् सचिवालयले संसदमा बस्ने नेकपाका सांसदहरुका लागि छुट्टै बस्ने व्यवस्था नगरिएको बताउँदै भन्नुभयो, ‘सत्तापक्षका सांसदहरु आफ्नो अनुकूलतामा बस्न सक्नुहुनेछ । हामीले छुट्टै व्यवस्था गरेका छैनौँ । सचिवालयले नेकपा विवादमा मान्यता दिन सक्दैन । निर्वाचन आयोगले अहिलेसम्म जानकारी गराएको छैन । हामीले नेकपा एउटै छ भन्ने बुझ्ने हो ।’