जनता टाइम्स

२४ फाल्गुन २०७७, सोमबार २०:०३

प्रचण्ड–माधव गुटको औपचारिक विर्सजन, फेरी भेटौंला भन्दै एमाले नेताहरु पेरिसडाँडाबाट छुट्टिए


काठमाडौं, फागुन २४

कम्युनिष्ट आन्दोलनमा दुई तिहाईको आफ्नै सरकार अपदस्थ हरेर हत्याउने दाउमा रहनु भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल गुटको औपचारिक विसर्जन भएको छ । सर्वोच्च अदालतको निर्णयपछि प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्र र नेपाल नेकपा (एमाले)बाट अगाडि बढ्ने निर्णय गर्नुभएको छ ।

पूर्ववत पार्टीमा फर्किएपछि सबैले चासोका रुपमा हेरिएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले आफुहरु अब एमालेमै फर्किएको बताउनु भएको छ । वरिष्ठ नेता नेपालले परिस्थितिले आफुलाई एमालेमै आउने अवस्था बनेको बताउनु भयो । पेरिसडाँडामा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै उहाले भन्नुभयो, ‘अब एमाले एमालेतिरै र माओवादी माओवादी केन्द्रतिरै फर्किने परिस्थिति बन्यो । एमालेकै नाममा पनि अर्को पार्टी दर्तामा छ । सबै कुराहरु हेरेर हामीले निर्णय गर्छौँ ।’ विगतमा आफैले साधारण सदस्यबाट निकालेकै व्यक्ति अध्यक्ष भएको पार्टीमा जाँदै गर्दा उहाले आफूहरुको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने प्रतिक्रिया दिनुभयो ।

अर्को नेता खनालले पेरिसडाँडामा भएको बैठकपछि फेरी भेटौंला भन्दै बाहिरिनु भएको थियो । ‘कानुनतः एकीकृत भइसकेका पार्टीहरुलाई कानुनतः दुईवटा पार्टीमा विभाजन गरेको छ । अदालतले गरेको यो फैसलालाई कार्यान्वयन गर्छौँ । तर साथसाथै यसप्रति हाम्रो गहिरो असहमति रहेको कुरा पनि प्रकट गर्छौँ । आ आफ्नो पार्टीमा रहेर वामपन्थी एकतालाई अघि बढाउन दृढतापूर्वक लाग्छौँ’, उहाले भन्नुभयो ।