जनता टाइम्स

२५ फाल्गुन २०७७, मंगलवार १२:१०

रघुजी पन्तको बढ्यो संकट, सांसद कोमल वलीद्वारा मुद्दा दायर, प्रमाणित भए तीन वर्ष कैद


काठमाडौं, फागुन २५

राष्ट्रिय सभा सांसद कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको छ । वलीले जिल्ला अदालत काठमाडौंमा आज केहीबेर अगाडी पन्तविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।

पन्तले सार्वजनिक कार्यक्रममा पिँडुला देखाएर वली सांसद भएको टिप्पणी गरेपछि त्यसको चर्को आलोचना भएको थियो । उहाँले अदालतले गर्ने निर्णय आत्मसात् गर्ने बताउनुभयो । भविष्यमा यस्तो अपमान र यौनिक हिंसा नहोस् भनेर मुद्दा दायर गरेको वलीले बताउनु भयो । मुद्दा दर्ताअघि ठूलो संख्यामा समर्थकहरुको उपस्थिति थियो ।

उहाले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गर्नुभएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ अनुसार पन्तलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । तर वलीले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेको हुँदा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गर्नुभएको छ । वलीले उचित क्षतिपूर्तिसहित मुद्दामा लागेको खर्चसमेत पन्तबाट भराउन पनि माग फिरादपत्रमा गर्नुभएको छ ।