जनता टाइम्स

२६ फाल्गुन २०७७, बुधबार ११:१८

ओली सरकारले गरिदियो सपनालाई बिपनामा परिणत : दुई सातापछि उपत्यकावासीको घरघरमा मेलम्चीको पानी


काठमाडौं, फागुन २६ । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार यही चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको छ ।

समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताउनुभयो । ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ मा पानी वितरण गरिनेछ,’ कार्यकारी निर्देशक खत्रीले भन्नुभयो ।

परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा मेलम्चीको जलप्रवाहको शुभारम्भ गर्नुभएको थियो । सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन १० गते करिब २७ किलोमिटर लामो सुरुङमा पानी प्रवाह गराइएको थियो ।

कार्यकारी निर्देशक खत्रीका अनुसार काठमाडौँ उपत्यकामा पानी वितरणका लागि चैतको दोस्रो साताबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिनेछ । सुरुङ सफा गर्ने काम भएकाले अहिले सुरुङको पानी बागमतीमा प्रवाह गरिएको छ । मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिन्छ र सँगसँगै वितरण हुनेछ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले सुन्दरीजल प्रशोधन केन्द्रबाट आएको पानी वितरणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्चीको पानी वितरणका लागि अहिलेसम्म कुल एक हजार १२५ किलोमिटरमा नयाँ वितरण प्रणालीको विकास गरिएको छ । त्यस प्रणालीमध्ये दुई सय किलोमिटरको परीक्षण कार्य सम्पन्न भई पानी वितरण गर्न तयारी अवस्थामा रहेको छ । आयोजनाका अनुसार परीक्षण भएका दुई सय किलोमिटरबाहेक बाँकी सबै ठाउँमा केयूकेएलको मौजुदा प्रणालीमा जोडिएर मेलम्चीको पानी आपूर्ति गर्ने आयोजनाको आन्तरिक तयारी छ ।’

केयूकेएलले सेवा उपलब्ध गराइरहेको क्षेत्रमध्ये एक लाख दस हजार घरधुरीमा नयाँ प्रणालीमार्फत आपूर्ति गर्ने योजना रहेकोमा ८० हजार घरधुरीमा धारा जडान गरिसकिएको छ । तीमध्ये १५ हजार धाराको परीक्षण भई पानी आपूर्ति गर्न सकिने अवस्था पुगिसकेको छ । पहिलो चरणअन्तर्गत नरेफाँटसहित काठमाडौँ र ललितपुरका चक्रपथभित्रका एक लाख दस हजार घरधुरीलाई पानी वितरण गर्ने कार्यक्रम आयोजनाको छ । दोस्रो चरणअन्तर्गत भक्तपुरसहित काठमाडौँ र ललितपुरको चक्रपथ बाहिरको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ ।

पाइप बिछ्याउने काम सम्पन्न

आयोजनाको पहिलो चरणअन्तर्गत एक हजार १५० किलोमिटरमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । दोस्रो चरणमा पाइप बिछ्याउनका लागि ठेक्का सम्झौता भई निर्माण कम्पनीले कार्यादेश पाइसकेको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो चरणअन्तर्गत करिब आठ सय किलोमिटर पाइप बिछ्याइने छ । गत असोजमा सम्झौता भएको दोस्रो चरणको कार्यावधि तीन वर्ष रहेको छ ।

चौबिसै घण्टा पानी

धारामा चौबिसै घण्टा पानी रहने गरी मेलम्चीको पानी वितरण गरिने लक्ष्य आयोजनाको रहेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि सन् १९७२ देखि पानीका सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालिएकोमा सन् १९८४ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची, याङ्ग्री र लार्के नै भनी निष्कर्षसहित निर्माण प्रक्रिया अगाडि बढाइएको थियो ।