काठमाडौं, फागुन २६
महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा उपस्थित हुने भक्तजनलाई नुहाउनका लागि मेलम्चीको पानी उपलब्ध हुने भएको छ । मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै महाशिवरात्रि दिन बागमती नदीमा सफा पानी बगाइने भएको छ । धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलमा पानी आएपछि बागमतिमा सफा पानी छाडिने बताउनु भएको थियो । सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै अहिले नै बागमतीमा पानीको बहाव बढिरहेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताउनु भयो । महाशिवरात्रिका लागि अहिले पशुपति परिसर सरसफाइ गरी सिँगार्ने काम हुँदैछ । आज पशुपतिनाथका भित्री द्वारसहित मन्दिर परिसरलाई विशेष किसिमले सिँगारिने पशुपति विकास कोषले जनाएको छ । यस वर्षको महाशिवरात्रिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मुल मन्दिर परिसरमा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ ।
पशुपतिनाथ मुल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान ४ बजेदेखि नै खोलिने छ । बिहान ४ बजेदेखि राति दर्शनार्थी नसकिएसम्म चारै ढोका खुला गरिने कोषले जनाएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मुल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । यस्तै‚ महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक गाडी निरन्तर चल्ने भएका छन् । तर, दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा गाडी आवागमनलाई निषेध गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्