जनता टाइम्स

२७ फाल्गुन २०७७, बिहीबार २०:५६

सरकार–जसपा वार्ता सकरात्मक : सहमति जुटाउने जिम्मा कार्यदललाई


काठमाडौं, फागुन २७

सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीचको छलफल सकरात्मक तर्फ अग्रसर बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका शिर्ष नेताहरुसँग बालुवाटारमा विहिवार भएको उच्चस्तरीय भेटघाट सकारात्मक रहेको दुवै तर्फका नेताहरुले जानकारी दिनुभएको छ ।

जसपा नेता लक्ष्मणलाल कर्णले वार्ता सकरात्मक बनेको बताउनु भयो । ‘सत्ता साझेदारीका लागि हाम्रो पहिलो सर्त रेशम चौधरीलगायत जेलमा रहेकाहरू रिहाइ, मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधन नागरिकतालगायत विषय छन्’, नेता कर्णले भन्नुभयो, ‘सरकारसँग यिनै विषयमा कुराकानी भएको छ । रेशम चौधरी रिहाइका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक हुनुहुन्छ ।’

सहमतिको मोडालिटी बनाउन यसअघि गठन गरिएको कार्यदललाई औपचारिकता दिएर भोलि साँझ छलफल गर्ने सहमति भएको छ । कार्यदलमा नेकपा एमालेको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई हुनुहुन्छ । जसपाको तर्फबाट नेता कर्ण, सर्वेन्द्रनाथ शुक्ला रहनु भएको छ । जसपाको तर्फबाट भोलि अर्का एक नेता थपिएपछि वार्ता हुने उहाले बताउनु भयो ।