काठमाडौं, फागुन २८ । नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि केपी ओलीसँग झगडा गर्ने र ओलीलाई पराजित गर्ने सपना नदेख्न माधव नेपाल समुहलाई सुझाउनु भएको छ । मुख्यमन्त्री गुरुङ माधव नेपालहरु एमालेमा आएको हो भने ओलीसँग झगडा गर्ने काम नगर्न पनि चेतावनी दिनुभयो ।
पोखरामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले समकालीन नेपाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग नरहेको ठोकुवा गर्नुभयो । गुरुङले एमाले माओवादी भइसक्दा पनि माधव नेपालहरू पेरिसडाँडामा गएर प्रचण्डको अध्यक्षतामा बैठक गरेको भन्दै कडा आपत्ति जनाउनु भयो ।
‘फेरि झगडा गर्न जाने हो, फेरि केपी ओलीलाई पराजित गर्न जाने हो भनेर खुल्लमखुल्ला अर्को पार्टीको हेडक्वार्टरमा गएर आफ्नो पार्टीको विरुद्धमा निर्णय गरेर उहाँहरु फर्किनुभएको छ । उहाँहरू के गर्नुहुन्छ त्यो त थाहा छँदैछ, तर पनि एमालेको सचिवको नाताले उहाँहरुलाई म स्वागत गर्न चाहन्छु,’ गुरुङले भन्नुभयो ।
मुख्यमन्त्री गुरुङले केपी ओलीविरुद्ध अझै पनि रिस पोख्ने हो भने अब सातमध्ये ६ प्रदेशमा एमालेकै सरकार बन्ने बताउनु भयो । गुरुङले माधव नेपालहरुले पार्टीमा बसेर प्रचण्डको सेवा गर्ने काम नरोके निकै सो समुह अप्ठेरोमा पर्ने चेतावनी समेत दिनुभयो ।
‘पूर्व प्रधानन्यायाधीशहरू, पूर्वप्रमुख निर्वाचन आयुक्तहरू, विभिन्न पार्टी, नागरिक समाजको नामका गेरुबस्त्र धारण गर्नेहरू सबैले केपी ओलीविरुद्ध मोर्चाबन्दी गरेकै हुन् । यी सबैको सामना गरेर हामी अघि बढ्यौं, अहिलेको राजनीतिमा ओलीलाई पराजित गर्ने कुनै नेता छैन, यो तथ्यलाई बुझ्न जरुरी छ, मुख्यमन्त्री गुरुङले भन्नुभयो ।
उहाँले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतका माओवादी नेताहरूले सांसद पद गए पनि ओलीलाई नछाड्ने भनेर इमान, विचार र नैतिकताको राजनीति प्रदर्शन गरेको भन्दै उच्च प्रसंशा गर्नुभयो । उहाँले हिजो प्रचण्डतिर लागेर फर्किने एमालेहरूभन्दा ओलीसँग लागेर एमालेमै बस्ने माओवादीहरूमा नैतिकताको राजनीति देखिएको प्रष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्