जनता टाइम्स

२८ फाल्गुन २०७७, शुक्रबार १२:३३

केपी ओलीले पूरा गरे भट्टराईले देखेको सपना : चैत १५ देखि काठमाडौंका धारामा मेलम्चीको पानी


काठमाडौं, फागुन २८ । सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने छ ।

आयोजनाका अनुसार अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने छ । सुरुङ भरिन ३-४ दिन लाग्ने छ । आयोजना प्रमुख तिरेश खत्रीका अनुसारसुरुङ भरिएपछि १० दिन जति पानी त्यसै छाडेर त्यसपछि भने सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खसालिने छ । पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाइने छ । खत्रीका अनुसार चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुने छ ।

तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ । ‘यसो गर्दा पानी प्रशोधन केन्द्रको परीक्षण पनि हुन्छ, तीन वर्षअघि नै बनेको पानी प्रशोधन केन्द्रको परीक्षण हुन नसक्दा खरिद सम्झौता सक्रिय छ, ठेकदारलाई आयोजनाबाट विदा गर्न पनि प्रशोधन केन्द्रको परीक्षण गरिहाल्नुपर्ने अवस्था छ,’ ’ खत्रीले भन्नुभयो । अहिलेसम्म सुख्खा मैसममा काठमाडौं उपत्यकामा दैनिक ६ करोड लिटर मात्र पानी वितरण हुँदै आएको छ। अब १७ करोड लिटर थपिएर वितरण क्षमता ४ गुणा बढ्नेछ।

नयाँ पाइपलाइनको परीक्षण नसकिन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ । खत्रीका अनुसार सुख्खायामभरि मेलम्चीको पानी केयूकेएलको प्रणालीमा पठाइनेछ । वर्षायाम लागेपछि भने एकपटक सुरुङ खाली गरेर त्यसको सुपरीवेक्षण गरिने छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का अनुसार मेलम्चीको पानी विरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ । पहिलो चरणमा काठमाडौंमा १ हजार १०० किलोमिटर पाइप बिछ्याइएको छ । त्यसमध्ये अब ८-१० किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ ।

अहिलेसम्म २०० किलोमिटर क्षेत्रमा बिछ्याइएको नयाँ वितरण लाइनको पाइपको परीक्षण सकेर १५ हजार वटा मिटर जडानको काम पनि सकिएको छ । तात्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देख्नुभएको यो सपनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यस पटक सरकारको नेतृत्व सम्हालेदेखि नै मेलम्चीको पानी उपत्यकावासीलाई खुवाउने अठोट गर्नुभएको थियो ।