जनता टाइम्स

२८ फाल्गुन २०७७, शुक्रबार १६:३४

एमालेमा अध्यक्ष र महासचिव बाहेकका पद खारेज, २०७८ मंसिरमा महाधिवेशन


काठमाडौं, फागुन २८

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गर्दै महाधिवेशनको मिति तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो ।

निर्णयसँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने भएका छन् । पार्टी प्रवक्ताको जिम्मेवारी भने प्रदीपकुमार ज्ञवालीलाई तोकिएको छ । यसअघि नेकपाको दुई समुह हुँदा पनि उहालाई नै प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आउनु भएका रामबहादुर थापा ‘बादल’ सहित २३ जना नेतालाई केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।

एमालेले सातै प्रदेशका इन्चार्ज पनि तोकेको छ । जसअनुसार बादललाई बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ । प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनाराण मण्डल, गण्डकी प्रदेशमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कडेँल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।

यसैबीच, एमालेको महाधिवेशन २०७८ मंसिरमा गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टीको १०औं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको छ ।