जनता टाइम्स

२९ फाल्गुन २०७७, शनिबार १७:३३

आजदेखि नारायणगढ–मुग्लिन सडक नियमित सञ्चालनमा


चितवन, फागुन २९

नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आएको हो ।

पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो । आज दिउँसो ३ बजेसम्म पहिरो रोक्ने काम सम्पन्न गरेर नियमितरुपमा आवागमन शुरु हुने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर सविना रानाभाटले जानकारी दिनुभयो ।

सो ठाउँमा गाडी रोकेर पहिरो रोक्ने काम सम्पन्न भएको छ । सोही ठाउँ नजिकै गत वर्षको असारपछि ठूलो पहिरो खसेको भए पनि तत्काल पन्छाउने योजना छैन । रानाभाटले भन्नुभयो, ‘हाल रोकथाम गरेको पहिरोभन्दा अझ माथि ठूलो पहिरो छ ।’ यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । हालको ठेक्कामा सो पहिरो समावेश नहुने भएकाले बजेटको व्यवस्थापन गरेर काम गर्नुपर्ने रानाभाटले जानकारी दिनुभयो ।

जुनसुकै बेला सो पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने देखिएको उहाँको भनाइ छ । गत साल पहिरो रोकथामका लागि भएको ठेक्कामध्ये आठ ठाउँको सम्पन्न भएकामा बाँकी रहेको चार किलोको यस वर्ष सम्पन्न गरिएको हो । रु १४ करोडमा पहिरो रोकथामका लागि ठेक्का गरिएको उहाँको भनाइ छ ।

यो सडक बिस्तारका क्रममा ठाउँ–ठाउँमा भित्तो काटिएपछि पहिरोको जोखिम बढेको थियो । सडक बिस्तार सँगसँगै पहिरो रोकथामको काम पनि अघि बढाइएको थियो । यस सडक हुँदै दैनिक १० हजार हाराहरी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।